
बैंकिङ खबर/ काभ्रेपलान्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर हुने गरेको छ । एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा अन्तिम समझदारी पत्रमा समेत हस्ताक्षर भइसकेको छ ।
दुवै संस्थाका मर्जर/एक्विजिसन समिति संयोजकद्वय मणि कुमार अर्ज्याल र सन्तोष फुयालसहित संस्थाका संचालक एवं व्यवस्थापनका कर्मचारीहरुको उपस्थितिमा भक्तपुरमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रमको सभाध्यक्षता मिर्मिरे लघुवित्तका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले गरेका थिए भने कार्यक्रमको संचालन उद्घोषण नेरुडे–मिर्मिरे सयुक्त मर्जर समितिका सदस्य सचिव एवम् मिर्मिरे लघुवित्तका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले गरेका थिए ।
मर्जर पश्चात् वित्तीय संस्थाको नाम ’नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमेटेड’ रहने र स्वाप रेसियो १ः१ रहने सम्झौतामा उल्लेख गरिएको छ । एकीकृत कारोबार पश्चात वित्तीय संस्थाको चुक्ता पुंजी १ अर्ब ३८ करोड, शाखा संजाल संख्या २५०, सेवाग्राही संख्या ३ लाख निक्षेप ६ अर्ब २५ करोड कर्जा लगानी १९ अर्ब कर्मचारी संख्या १३०० पुग्ने मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशीले जानकारी गराए । स्वागत मन्तब्य दिँदै जोशीले वित्तीय संस्थाहरुको मर्जर कार्यले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने बिस्वास लिएको बताएका थिए ।
मर्जर पश्चात जोशी स्वेच्छिक अवकासमा जाने र हाल नेरुडे लघुवित्तका बहालवाला प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल ले निरन्तरता पाउने अन्तिम सम्झौतामा उल्लेख छ । मिर्मिरेकोतर्फबाट मर्जर/एक्विजिसन समितिका संयोजक सन्तोष फुयालले स्वागत मन्तव्यका क्रममा लघुवित्त क्षेत्रमा यो मर्जर बिग मर्जर को रुपमा रहन सक्ने बताउँदै यस अघि नै मिर्मिरे लघुवित्त मर्जर सम्बन्धमा अनुभवी भइसकेकोले भविष्यमा अन्य लघुवित्तहरु समेतलाई समेटेर अघि बढ्न सकिने बताए ।
नेरुडे लघुवित्तका तर्फबाट वित्तीय संस्थाका अध्यक्ष डा. भेष प्रसाद धमलाले मन्तव्यका क्रममा तत्कालिन पुर्वाञ्चलकै जेठो लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भएको स्मरण गर्दै वित्तीय संस्थाले त्यस क्षेत्रमा गरिबी न्यूनीकरण/निवारणको दिशामा उल्लेखनीय कार्य गरेको बताएका थिए । नेरुडे लघुवित्तका तर्फबाट मर्जर÷एक्विजिसन समिति संयोजक मणि कुमार अर्ज्यालले लघुवित्त वित्तीय संस्थाहरु प्रति हाल बजारमा उत्पन्न समस्या न्यूनीकरण गर्न मर्जर कार्यले थप टेवा पुग्ने बताए ।
नियमनकारी निकायको मार्गदर्शनलाई पछ्याउदै एक सबल लघुवित्तको स्थापनाका लागि मर्जर/एक्विजिसन कार्यमा आफुहरु लागेको र मिर्मिरे लघुवित्तसँग यस अघि मर्जर भएका स्वेडा लघुवित्त, नागबेली लघुवित्त र बुद्दज्योती लघुवित्त सबैको साझा योगदानले नेरुडे लघुवितसँग मर्जरमा जाने हैसियत प्राप्त भएको बताउँदै आफुलाई मर्जर कार्य सम्पन्न गर्न लघुवित्त क्षेत्रका अग्रज व्यक्तित्वहरुबाट प्राप्त प्रेरणा र विश्वासको लागि कृतज्ञ रहेको, यी दुई वित्तीय संस्थाको मर्जरकार्यले नेपालको लघुवित्त क्षेत्रमा सकारात्म तरङ्ग संचारण हुने विश्वास लिएको बताउँदै उक्त कार्यक्रमका सभाध्यक्ष एवं मिर्मिरे लघुवित्तका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले कार्यक्रम समापनको घोषणा गरेका थिए ।




