
बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीले नेपालका लघुवित्त वित्तीय संस्थाको ब्याजदर अन्य देशको तुलनामा निकै कम भएको बताएका छन् । बिहीबार मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्र : बहसमा निकास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘लघुवित्तको ब्याजदर अत्यन्त महंगो भयो भन्ने छ, तर नेपालका लघुवित्तको जति सस्तो ब्याजदर अन्य देशमा छैन,’ उनले भने, ‘अहिले लघुवित्तकै बेस रेट १३.५ प्रतिशत छ, तर कर्जा लगानी १५ प्रतिशतमा दिइरहेका छन् ।’
विपन्न वर्गलाई कर्जा दिन र उनीहरुको बचत वृद्धि गर्ने उदेश्यले लघुवित्तको स्थापना गरिएको तर पछिल्लो समय केही संस्थाहरुका कारण विकृति आएको उनले बताए । ‘लघुवित्तको उदेश्य खास गरेर सानो कर्जा दिने र निक्षेप संकलन गरेर बचत गर्ने बानिको विकास गर्ने हो,’ उनी भनछन्, ‘कमर्सियल बैंक र राष्ट्र बैंककै क्षेत्रका मानिसहरूले नाफा कमाउने उदेश्यले लघुवित्तमा लगानी गर्दा समस्या देखियो ।’
राष्ट्र बैंकले अनियन्त्रित रूपमा लघुवित्तको लाइसेन्स वितरण गरेर लघुवित्तको सञ्चालन गर्न दिँदा वित्तीय प्रणालीमा असर परेको उनले बताए । ‘पछि खुलेका लघुवित्तमा विकृति आएको हो । तर, अहिले सबै लघुवित्तलाई सामन्ती भन्ने बनाइएको छ ।’



