Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अब नेपाली बीमा कम्पनीले विदेशमा शाखा खोल्न पाउने

२०७९ चैत्र १६ गते

बैंकिङ खबर/नेपाली बिमा कम्पनीले अब विदेशमा पनि शाखा कार्यालय खोल्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बिमकको शाखा कार्यालय सञ्चालनसम्बन्धी निर्देशिका २०७९ जारी गर्दे यस्तो व्यवस्था गरेको हो । उक्त निर्देशिकामा बिमकले विदेशमा पनि शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न पाउने व्यवस्था गरेको छ । शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्दा बिमकले प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।

बिमक तथा बिमकका सञ्चालकलाई प्राधिकरणबाट कुनै कारबाही भएको भए त्यस्तो कारबाही भएको पाँच महिना पूरा भइसकेका बिमकले मात्रै शाखा कार्यालय खोल्न पाउनेछन् । विदेशमा कार्यालय खोल्दा सम्बन्धित मुलुकको नियामक निकायले तोकेको पुँजी पुरा गर्नुपर्नेछ । प्राधिकरणले अन्तिम स्वीकृति दिएको ६ महिनाभित्र बिमकले शाखा कार्यालय खोलिसकेको हुनुपर्नेछ । विदेश शाखा कार्यालयमा बिमकले कम्तीमा अधिकृत तहको कर्मचारीलाई प्रमुखको रूपमा र आवश्यकताअनुसार अन्य अधिकृत तथा कर्मचारीको व्यवस्था गनुपर्नेछ ।

बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणको पूर्वस्वीकृति लिएर शाखा कार्यालय गाभ्न, स्थान्तरण गर्न वा बन्द गर्न सक्नेछन् । यसका लागि बिमकले समितिको निर्णय, कार्यालय स्थानान्तरण गर्दा, बन्द गर्दा वा गाभ्दा सेवाग्राहीलाई पर्न सक्ने असर समाधान तथा व्यवस्थापनका उपायसहितको विवरण, तत्काल बहाल रहेका जनशक्तिको व्यवस्थापनको कार्ययोजना, कार्यालय स्थानान्तरण गर्दा वा गाभ्दा कायम हुने कर्मचारीको पद तथा संख्यासहित प्राधिकरणमा निवेदन दिनुपर्नेछ ।

बिमकले कार्यालय सञ्चालनका लागि स्वीकृतिप्राप्त महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाको हकमा सम्बन्धित वडाभित्र तथा गाउँपालिकाको हकमा सोही गाउँपालिकाभित्र शाखा वा उपशाखा कार्यालय स्थानान्तरण गर्नुपरेमा सञ्चालक समितिको निर्णयअनुसार स्थानान्तरण गरी सात दिनभित्र नयाँ ठेगानासहितको जानकारी प्राधिकरणलाई दिनुपर्नेछ ।

त्यस्तै, बिमकले प्रत्येक प्रदेशमा प्रदेश कार्यालय पनि खोल्नुपर्नेछ । शाखा तथा उपशाखा कार्यालयबाट हुने बिमा व्यवसाय तथा सेवाप्रवाहलाई समन्वय हुने गरी प्रदेश शाखा कार्यालय खोल्नुपर्नेछ । प्रदेश कार्यालय बिमकले प्रदेशअन्तर्गतको कुनै पनि जिल्लामा खोल्न सक्नेछन् । यसका साथै बिमकले व्यावसायिक आवश्यकताअनुसार शाखा वा उपशाखा कार्यालय पनि खोल्न सक्नेछन् ।

बीमा कम्पनीहरूले काठमाडौं उपत्यकाबाहिर तीनवटा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएपछि मात्रै काठमाडौं उपत्यकामा थप एक शाखा कार्यालय खोल्न सक्नेछन् । काठमाडौंमा उपत्यकाभित्र शाखा खोल्दा चक्रपथबाहिर तथा नगरपालिकामा खोल्न प्राथमिकता दिनुपर्नेछ ।