
बैंकिङ खबर/नेपालीको बैंक खाता मासिक दश हजारमा भाडामा लिएर ठगी गरेको आरोपमा आरोपमा प्रहरीले ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुसँगै ठगीमा संलग्न रहेको आरोपमा १० जना नेपाली समेत पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका १० जनालाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरु दोलखाको शैलुङगेश्वर गाउँपालिका–३ का ४६ वर्षीय बुद्धिराज श्रेष्ठ, नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २९ वर्षीय इन्द्र तामाङ, सोही गाउँपालिका ६ का ३६ वर्षीय राजकुमार लामा, काठमाडौं बूढानीलकण्ठ नगरपालिका–२ का २५ वर्षीय प्रयास भण्डारी, दोलखाको बैतेश्वर गाउँपालिका–२ का २६ वर्षीय अर्जुन श्रेष्ठ रहेका छन्।
यस्तै रामेछापको उमाकुण्ड गाउँपालिका–४ की ३४ वर्षीया रविना सुनुवार, लमजुङको दुधपोखरी गाउँपालिका–६ की ३४ वर्षीया सुनिता गुरुङ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ की २२ वर्षीया कृष्टिना भनिने जमुना गोले, उदयपुरको त्रियुगा नगरपालिका–११ की १९ वर्षीया अनिता मगर र गोरखाको चुमनुब्री गाउँपालिकाकी २० वर्षीया अनु गुरुङ छन्। उनीहरुको खातामार्फत चिनियाँले ठगी गरेको खुलेको छ।
केहीलाई भने कर्मचारीका रुपमा खटाएको पाइएको छ। खाता प्रयोग गरिएका नेपालीले चिनियाँले अनलाइन ठगीबाट जम्मा गर्न लगाएको रकम चेक र एटीएम मार्फत निकालेर चिनियाँलाई बुझाउने गरेको पाइएको छ। अर्जुन रकम जम्मा गर्न बढी खट्ने भएकाले उनलाई भने स्कुटरसमेत किनिदिएका थिए। घटनाबारे विस्तृत अनुसन्धान बाँकी रहेको प्रहरीले जनाएको छ।
चिनियाँ नागरिकहरुमा इजे ३४४५२७४ नम्बरको राहदानी वाहक ३३ वर्षीय हाङ हुवानरुङ, इजे ६८४३५५२ नम्बरको राहदानी वाहक ३६ वर्षीय छु फुक्सिङ, इएफ ९६०२९८४ नम्बरको राहदानी वाहक ३४ वर्षीय लान छिङहुई, ४० वर्षीय सि गुओ ई, २९ वर्षीय सि सुहाङ डी, ३१ वर्षीय ग्वो मिङ, ३१ वर्षीय इहो पिङ भिङ, ३० वर्षीय छिन दुर लिन र इसी ०१६७२३६ नम्बरको राहदानी वाहक ३९ वर्षीय लि जिआन हाङ छन्।
पक्राउ परेका व्यक्तिबाट विभिन्न सामान पनि बरामद भएको छ। ल्यापटप १२ थान, मोबाइल ७७ थान, सिमकार्ड ७४ थान, राहदानी ६ थान, डेस्कटप २ थान, राउटर ४ थान र ४ लाख १ हजार ८८० नेपाली रुपैयाँ बरामद भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।




