
बैंकिङ खबर/ जनता समाजवादी नेपालका सांसद प्रदिप यादवले बैंकिङ क्षेत्रमा अन्योलताको स्थिति सिर्जना भएको बताएका छन् । प्रतिनिधिसभा सोमबारको बैठकमा उनले भने, ‘देशमा उद्योगी, व्यापारी, बैंकर र बीमक पनि एकै हुने स्थिति रहेको छ । स्थापीत व्यवसायीक घरानाको दबदबा नभएको कुनै बैंक छैन । जहाँ पनि स्वार्थ बाझिएको देखिन्छ । केहि ठूला घरानाहरु छन् । जसलाई बैंकले बैंक र उद्योगले गरेको दुवै नाफा जान्छ ।’
उनले भारतमा ९ प्रतिशत व्याजदरमा ऋण दिइएको अवस्थामा नेपालमा १८ प्रतिशत पुगेको बताए । हिजोको दिनमा जसले दुई लाख किस्ता तिथ्र्यो । आज महिनाको चार लाख तिर्ने स्थिति भएको उनको भनाइ छ ।
राष्ट्र बैंकको नीति नैतिक रुपमा स्वतन्त्र होला, तर व्यवस्थापनको हिसाबले राष्ट्र बैंक कहिल्यै स्वतन्त्र नभएको उनको भनाइ छ । जबसम्म राष्ट्र बैंक स्वतन्त्र हुँदैन तबसम्म अर्थतन्त्रमा सुधार नहुने उनले बताए । ब्याज बढाउँदा एक भएर लाग्ने बैंक घटाउन किन लाग्दैनन् भन्दै उनले प्रश्न गरे ।


