
बैंकिङ खबर/ सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर फागुन २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। सो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन ३० गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।



