
बैंकिङ खबर/बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाली बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्नेमा जोड दिएका छन् । बीमा नियमावली, २०७९ को मस्यौदाका विषयमा काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष सिलवालले बिमा नियमावली फराकिलो बनाउनु पर्ने बताए । यसका लागि नियमावलीमा सबै विषय समेट्नुपर्ने उनको धारणा थियो । नेपाली बिमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्छ, यसमा कञ्जुस्याइँ गर्न नहुने उनको भनाइ थियो ।
निर्माणको अन्तिम चरणमा रहेको बिमा नियमावली बिमा कम्पनी, पुनर्बीमा कम्पनी, बिमा सर्भेयर, बिमा अभिकर्तालगायत सरोकारवालाबाट प्राप्त सुझावहरू समेतका आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने उनले जानकारी दिए । बीमा व्यवसायको विकास एवम् विस्तारका लागि बिमा ऐन, नियम र निर्देशिका पूर्णरूपमा पालना गरी अगाडि बढ्न कम्पनीहरूलाई अध्यक्ष सिलवालले निर्देशन समेत दिए ।


