
बैंकिङ खबर/ गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विपन्न वर्ग कर्जा करिब सवा ४ अर्ब रुपैयाँ घटेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा साढे १ खर्ब रुपैयाँले बढेको छ । कुल कर्जा बढिरहेको समयमा विपन्न वर्ग कर्जा घट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
गत पुससम्म विपन्न वर्ग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल लगानी ३ खर्ब ३१ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १.२ प्रतिशतले कम हो । ०७८ पुससम्म विपन्न वर्गमा बैंक तथा वित्तीय संस्थाको कुल लगानी ३ खर्ब ४३ अर्ब रुपैयाँ थियो । गत आर्थिक वर्षको पुससम्म विपन्न वर्ग क्षेत्र कर्जा १७ प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्गमा कर्जा प्रवाह गर्न दिइएको न्यूनतम सीमा परिमार्जन नगरी त्यसको दायरा बढाएको थियो । जसअनुसार महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा प्रवाह हुने २० लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिनेछ ।
यस्तो कर्जाको अनिवार्य बिमा गर्नुपर्ने र वास्तविक कृषि व्यवसायीलाई २० लाख रुपैयाँसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था मौद्रिक नीतिमा छ ।