
बैंकिङ खबर/ उद्योगी व्यवसायीहरु यतिबेला बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध खनिएका छन् । आफूहरुमाथि बैंकवित्तले ज्यादती गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार पनि नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत अन्य ९ व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरुले बैंक तथा वित्तीय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन गरे । उनीहरुले माइतीघरमा विरोध प्रदर्शन तथा नाराबाजी पनि गरे । बैंकको ब्याजदर एकल अंकमा सीमित गरिनुपर्ने, सहुलियत कर्जाको सीमा बढाउनुपर्ने, कर्जा सेवा शुल्क ०.२५ प्रतिशत कायम गर्नुपर्ने उनीहरुको माग छ ।
यता नेपाल बैंकर्स एसोसिएसनले भने ब्याजदर घटाउनका लागि भन्दै व्यवसायी सडकमा आउनुलाई गैरजिम्मेवारीका रुपमा टिप्पणी गरेको छ । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी सडकबाट ब्याजदर नै तोक्न पाउनुपर्नेजस्ता गतिविधि गर्न खोजिएको उल्लेख गर्छन् । केसी भन्छन्, ‘व्यवसायीले उत्पादन गरेका सामग्रीको मूल्य यति हुनुपर्छ भन्दै कसैले आन्दोलन त गरेको छैन ।’
भारत, अमेरिका लगायत विश्वका अन्य मुलुकहरुमा ब्याजदर बढ्ने क्रम जारी रहेको भन्दै उनले नेपाललाई ती मुलुकको अवस्थाले प्रभाव पर्ने बताए । ‘तरलतामा अझै चाप पर्ने देखिन्छ, त्यसकारण तत्काल ब्याजदर घट्ने अवस्था देखिँदैन’ उनले भने ।
बैंकले देशको कुना–कुनामा छरिएर रहेको रकम जम्मा गर्ने भएकाले निक्षेपकर्ताप्रति अझ बढी जिम्मेवार हुनुपर्ने उनले स्पष्ट पारे । ‘कसैले छोराछोरीको बिहेका लागि पैसा राखेका हुन्छन्, कसैले घरखर्चका लागि राखेका हुन्छन्, ती बचतकर्ताप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व हो’ उनले भने ।
चर्को रुपमा ऋणको ब्याजको मात्रै कुरा सुनिने गरेको तर निक्षेपकर्ताले पाएको ब्याजलाई बेवास्ता गर्ने गरिएको बैंकरको भनाइ छ । नेपाल बैंकर्स एसोसिएनका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगाना कतिपय व्यवसायीले उच्शृंखल माग राख्ने गरेको बताउँछन् ।
बैंकलाई सबै पक्षले च्याप्न खोजेको ढुंगानाले गुनासो गर्छन् । ‘व्यवसायीहरुले ब्याजदरलाई लिएर बैंकप्रति आक्रोश पोख्ने, आत्महत्या गरे भनेर उच्शृंखलता प्रदर्शन गर्ने, ऋण उठाउनका लागि ६ महिनाअघि सूचना छाप्न नपाइने, ऋण उठाउन सूचना जारी गर्दा राष्ट्र बैंकले व्यक्तिको फोटो नछाप भन्नेजस्ता विषयले बैंक चारैतिरबाट च्यापिएका छन्’ ढुंगाना भन्छन् ।