
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि ‘डेडलाइन’ तोकेको छ । राष्ट्र बैंकले दुईवटै बैंकलाई माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । एकीकृत कारोबारका लागि फागुन १६ गतेसम्मका लागि डेडलाइन तोकिएको छ ।
मर्जरका लागि अन्तिम स्वीकृति दिँदै राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई १ महिनाभित्र अर्थात् फागुन १६ गतेभित्र एकीकृत कारोबार गर्न भनेको हो ।
यता मर्जर प्रक्रियामा भएको समायोजनाप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । हिमालयन बैंकसँगको मर्जरका क्रममा भएको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आन्दोलन शुरु गरेका हुन् ।
सिभिल बैंकका कर्मचारी युनियनका अध्यक्ष सत्यन्द्र निरौलाका अनुसार एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोध जनाइएको हो ।
विरोध स्वरुप बुधबार बिहान १० बजेदेखि २ घण्टाका लागि देशभरका शाखा कार्यालयमा पेन डाउन शुरू गरिएको छ । कर्मचारी समायोजनमा व्यवस्थापनसँग छलफल भइरहेको र उनीहरूलाई दबाब बढाउन पेन डाउन गरेको उनले बताए ।
हिमालयन र सिभिल बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता गत असारमा र अन्तिम मर्जर सम्झौता गत पुसमा भएको थियो । तर एकीकृत कारोबार फागुनबाट सुरु गर्ने तयारी छ । अहिले सफ्टवेयर मिलान, कर्मचारी समायोजन लगायतका काम भइरहेको छ ।