Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘व्यवसायीहरुले बैंकबाट लिएको कर्जा तिर्दैनौँ भनेका छैनौं’

२०७९ माघ १६ गते


बैंकिङ खबर/बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन् । सोमबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरबिरुद्ध गरेको सडक आन्दोलन सञ्चारकर्मीसँग बोल्दै अधिकांश व्यवसायीहरुले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या समाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन माग गरेका छन् ।

उनीहरुले बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरु सडकमा आउनपरेको भन्दै तत्काल सरकारले बैंकको ब्याजदर एकल अंकमा ल्याउनुपर्ने बताए । सडक आन्दोलनमा सहभागि हुँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले अहिलेको असहज अवस्थालाई हेरेर व्यवसायीहरुलाई सहजता बनाउनुपर्ने बताए । उनले उद्योगी व्यवसायीहरुले बैंकबाट लिएको कर्जा तिर्दैनौँ नभनेको बताए । उनले असहज अवस्था भएकाले व्यवसायीहरुले लिएको कर्जाको किस्ता तिर्न समय माग गरिएको बताए । उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकका गभर्नरले कर्जा दिन्न भन्नु अराजकता भएको भन्ने टिप्पणी गलत भएको बताए ।

उनले व्यवसायीहरुले बैंकबाट कर्जा व्यवसाय गर्न र तिर्नको लागि नै लिएको दाबी गरे । उनले १८ लाख ऋणीले सबै कागज बुझाएर कर्जा लिएको उल्लेख गरे । उनले अहिलेको असहज अवस्थामा बैंकहरु पनि जिम्मेवार हुनुपर्ने बताए ।

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैंकहरुले उद्योगी व्यवसायीहरुबाट चर्को ब्याज असुलेर नाफामा कमाएर बसेको आरोप लगाए । उनले बैंकहरुले सबै क्षेत्रका व्यवसायीहरुको सम्पती लिलामिमा दैनिक जसो पत्रपत्रिकाहरुमा प्रकाशित हुन थालेको बताए । उनले यातायात लगायत सबै क्षेत्रको एउटै समस्या भएकाले बैंकको चर्को ब्याजदर र आतंकको बिरुद्धमा आन्दोलनमा सहभागिता जनाएको बताए ।

उनले नेपालको यातायात क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउने मेरुदण्ड भएको बताए । उनले निजी क्षेत्र सरकारको एउटा साझेदार भएकाले साझेदारको व्यवहार गर्नुपर्ने बताए । उनले व्यवसायीहरुलाई भएका नीति गत तथा बैंक समस्याको सहजिकरण सरकारले गर्नुपर्ने बताए । उनले यातायात व्यवसायीहरुलाई बैंकले फोन आप गरेर बस्नुपर्ने अवस्था बनाएको बताए । सिटौलाले अहिले कुनै क्षेत्र नाफामा छ भने त्यो बैंकिङ क्षेत्र मात्रै भएको बताए । उनले अहिलको अवस्थामा बैंकहरुले पनि व्यवसायीहरुलाई सहजिकरण गरी ब्याजदर घटाएर गरिखाने वातावरण बनाउनु पर्ने बताए । उनले अब मुलुकका सबै निजी क्षेत्र गठबन्धन गर्न आवश्यक रहेको बताए । त्यस्तै, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले ७० प्रतिशत राज्य सञ्चालन गर्ने खर्च निजी क्षेत्रले योगदान गरिरहेको बताए ।

Ad