Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

महिला उद्यमशिलतालाई अगाडि बढाउनेछुः महिलामन्त्री चौधरी

२०७९ माघ ५ गते

बैंकिङ खबर/ नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला उद्यमशिलतालाई स्थानीय तहसम्म सहकार्य गरेर अगाडि बढाउने बताएकी छन् । मिडिया इन्टरनेशन नेपालको प्रतिमण्डलसँगको बुधबारको भेटमा मन्त्री चौधरीले महिलालाई भाषणमा मात्र प्राथमिकता दिइएको भन्दै उनीहरुलाई सीप, तालिमको खाँचो रहेको बताइन् । यस्तै मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पनि बताइन् ।

मन्त्रालयमा न्यून काम हुन्छ भन्ने दृष्टिकोणलाई परिवर्तन गरी महिला हिंसा अन्त्य गर्न पहल गरी विभिन्न तह र तप्कामा समानता कायम गर्न पहल गर्ने मन्त्री चौधरीको भनाइ छ । राज्यले दिने सेवासुविधा, वृद्धभत्तालाई निरन्तरता दिई ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक तथा धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरुको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउन अघि बढ्ने समेन उनले प्रतिवद्धता जनाइन् । उनले हरेक क्षेत्रमा महिला सहभागिता, शिक्षा तथा प्रभावकारी कानूनको अभाव रहेको बताइन् । महिला सहभागिलाई हरेक क्षेत्रमा हुने गरी इक्वालिटी वेसमा अगाडि बढाउने उनको भनाइ थियो ।

समाजमा रहेको चेलिबेटी बेचविखन, बालविवाह, दाइजो प्रथा लगायतका कुरीति हटाउन र न्यूनीकरण गर्न लागिपर्ने उनले बताइन् । बलात्कार लगाएतका जघन्य अपराधका घटनाहरुहरुलाई नीतिमै रोक्दा थप प्रभावकारी हुने उनले बताइन् । महिला, बालबालिका र जेष्ठ नागरिकका क्षेत्रका कानूनहरु आवश्यक परेमा संशोधन गर्ने पनि उनले प्रतिबद्धता जनाइन् । भेटमा मिडिया इन्टरनेशन नेपालका अध्यक्ष माधव निर्दोषले मन्त्री चौधरीको कार्यकालको सफलताको कामना गर्दै महिला उद्यमशिलतामा जोड दिन आग्रह गरेका थिए ।

को हुन् चौधरी

सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर चौधरी निर्वाचित भएकी थिइन् । भगवतीले विजयलाई ५ हजार १८८ मतान्तरले तेस्रोपटकको प्रयासमा निर्वाचित भएकी थिइन् । भगवती निर्वाचित जनप्रतिनिधि बनेसँगै विजयको सातौंपटक निर्वाचित भएर सिंहदरवार प्रवेश गर्ने यात्रा ब्रेक लागेको थियो ।

भगवतीलाई नेपालको वित्तीय क्षेत्रको एक हस्तीका रुपमा लिने गरिन्छ । सुनसरीको गढी गाउँपालिका औरावनीमा जन्मिएकी ५१ वर्षीया उनी साहसी नेतृको रुपमा परिचित हुनुहुन्छ । महिला नेतृहरुको स्थानमा उनको नाम अग्रस्थानमा छ । पारिवारिक पृष्ठभूमि समेत राजनीति र सामाजिक क्षेत्रमा रहेकोे कारण उनमा सानैदेखि समाजसेवा गर्ने रुची थियो ।

उनले २०५१ सालदेखि ग्रामीण महिला उत्सकुता विकास मञ्च संस्था स्थापना गरी स्थानीय महिलाहरुको हितमा शिक्षा, स्वास्थ्य, आर्थिक र कानुनी शिक्षा सचेतना फैलाउँदै आएकी थिइन् ।

२०५९ देखि फरवार्ड लघुवित्त स्थापना गरी महिलाहरुको आर्थिक विकासमा जोड दिँदै आएकी छिन् । फरवार्डले अहिले सुनसरीसँगै मुलुकका ४० भन्दा बढी जिल्लाका ग्रामिण भेगका तीन लाख बढी महिलाको अनुहारमा उज्यालो ल्याउन सफल भएको छ । सुनसरीको दुहवीमा रहेको फरवार्ड लघुवित्त वित्तीय संस्था मुलतः गरिबीको रेखामुनि रहेका तथा न्यून आय भएका ग्रामिण भेगका महिलाको जीवनस्तर उकास्न तल्लिन छ ।

भगवतीले २०४८ मा नेकपा एमालेको पार्टी सदस्यता लिँदै राजनीतिमा प्रवेश गरेकी थिइन् । महिलाको क्षेत्रमा काम गर्दै आएकी उनी २०५८ देखि सक्रिय राजनीतिमा लागेकी थिइन् । ०६४ मा नेकपा एमाले सुनसरी सदस्य हुँदै २०७० मा कोसी अञ्चल कमिटी सदस्य बनेकी थिइन् । नेकपा एमालेको नवौं र दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख बनेकी थिइन् ।

उनी हाल सुनसरी सहइन्चार्ज समेत हुन् । उनी २०६८ मा करिब ६ महिना वन तथा भू–संरक्षण राज्यमन्त्री समेत बनेकी थिइन् । ०६४ मा संविधानसभा सदस्यमा मनोनित भइन् । समाजशास्त्र तथा व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरेकी उनी हाल इलेक्ट्रोल सिस्टम डेमोक्रेसीमा विद्यावारिधि हुन् ।

हजुरबुवा र हजुरआमाबाट पढ्ने हौसला पाएकी उनी आफुजस्तै उमेरका केटाकेटीहरु खासगरी मुसहर समुदायका बालबालिका विद्यालय जानबाट वञ्चित भएको देख्दा असाध्यै दुःख लाग्थ्यो । उनमा साथीहरु र दिदी–बहिनीको शिक्षाका लागि अभिभावकसँग मुकाविला गर्ने क्षमता सानैदेखि थियो ।

अहिले पनि विद्यालय शिक्षाबाट वञ्चित भएका डेढ सय बालबालिकालाई आफ्नै क्षत्रछायाँमा शिक्षादिक्षा दिँदै आएकी छन् । साथै, आजका युवाहरुलाई प्राविधिक शिक्षामा पहुँच पुर्याउने उद्देश्यले गाउँमै प्राविधिक कलेज समेत स्थापना गरेकी छन् ।

उनी बंगलादेशका नागरिक नोवेल शान्ति पुरस्कार विजेता मोहम्मद यूनुसबाट प्रभावित भएर ग्रामिण आर्थिक सवलीकरण, महिला उत्थान र सामाजिक कार्यमा समर्पित नेतृ चौधरीले देशका तीन लाख बढी महिलामा वित्तीय पहुँच पु¥याउन सफल भएकी छन् ।

ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत वित्तीय साक्षरता र सामाजिक सचेतनाहरु फैलाउँदै फरवार्ड माइक्रोफाइनान्सबाट ग्रामिण महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा दिनेश चौधरी स्मृति प्रतिष्ठानमार्फत सामाजिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएकी छन् ।

चौधरीसँग महिला सशक्तिकरण, ग्रामिण अर्थतन्त्र सवलीकरण र युवा स्वरोजगारका विषयमा योजना र लक्ष्यहरु रहेका छन् । अध्ययन, तालिम र विभिन्न कार्यक्रममा सिलसिलामा २२ भन्दा बढी देश पुगिसकेकी चाैधरीले आफुलाई स्वदेशमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा समेत उभ्याउने अभियानमा छिन् । विभिन्न अन्तर्राष्ट्रिय सभा, सम्मेलन र गोष्ठिहरुमा सहभागी हुँदा उनको भूमिका र प्रस्तुति सशक्त हुने गरेको छ ।

यूनिसेफले बंगलादेशको ढाकामा गरेको बालबालिका शिक्षा सम्बन्धि तालिममा महत्वपुर्ण रुपमा सहभागीता जनाएकी चौधरीले जर्मन, इटाली, अष्ट्रेलिया, ब्राजिल जस्ता मुलुकले मारेको आर्थिक विकासको फड्कोबाट नेपालले कसरी लाभ लिन सक्छभन्ने अध्ययन गरेकी छन् । संघर्षको योगदान स्वारुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाइ सकेकी छन् । उनले संविधानसभा सदस्य पदक, २०६५ समेत पाएकी छन् । यसरी वित्तीय क्षेत्रबाट महिलाहरुको विकासमा लागेकी चौधरी मन्त्री बनेसँगै महिला सशक्तिकरणमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

Ad