
बैंकिङ खबर/चालु खाता रु.३७ अर्ब ९१ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको पाँच महिनाको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्दै सो जानकारी गराएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई रु.३ अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब ७ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ