
बैंकिङ खबर/ मिटरब्याजी अपराधलाई प्रत्यक्ष कानुनी दायरामा ल्याउन गठित कार्यदलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कानुनको मस्यौदा प्रस्ताव पेश गरेको छ। गृह मन्त्रालयले मिटरब्याजीलाई कारबाही गर्न कडा कानुन बनाउने गरी कानुन नै संशोधनका लागि मस्यौदा कार्यदल बनाएको थियो।
एक महिना पहिले कानुन संशोधनका लागि मस्यौदा तयार पार्ने जिम्मा पाएको कार्यदलले प्रस्ताव बुझाएको हो। मस्यौदा समितिको बैठक सोमबार गृहमन्त्रालयमा बसेपछि त्यसलाई अन्तिम रुप दिएर गृहमन्त्रीलाई बुझाइएको हो।
गृह मन्त्रालयले कानुन संशोधनका लागि सहसचिव भीष्मकुमार भुसालको नेतृत्वमा मस्यौदा तयारी कार्यदल बनाएको थियो। मस्यौदा तयार भएर गृहमन्त्रीलाई बुझाएपछि कानुन संशोधनका लागि प्रक्रिया अगाडि बढाइनेछ।