
बैंकिङ खबर/ सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले जीवन बिमा किताव बजारमा ल्याएका छन् । लामो समयसम्म वित्तीय साक्षरतामा कलम चलाइ रहँदा त्यस भित्रको अभिन्न अंगका रुपमा लिइने जीवन बिमालाई पनि समेट्न आवश्यक ठानेका कारण जीवन बिमा पुस्तक तयार गरेको भट्टराई बताउँछन् ।
पाठकहरुको बढ्दो रुची, बदलिँदा वित्तीय आवश्यकता र बिमाको फैलदै गएको बजारले यसको आवश्यकता अझ बढी देखिएको छ । बिमा बजारको गुणस्तरीयतामा वृद्धि, जीवन बिमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्न बिमा ऐन र नियमावलिमा भएका पछिल्ला व्यवस्थाको उदेश्य पूरा गर्न यसले सहयोग पुर्याउने छ । बिमा गर्न चाहने, बिमाको आवश्यकता बुझ्न चाहने अनि बिमा अभिकर्ताका रुपमा काम गर्न चाहने र गरिरहेका तथा बिमा बजारको नियमन गर्ने सवै पक्षलाई यो पुस्तकले सहयोग पुर्याउने छ । यसले भर्खरै आएको बिमा ऐन २०७९ का व्यवस्था, बिमा प्राधिकरणका निर्देशनहरु र जीवन बिमाको क्षेत्रमा भएका अन्तराष्ट्रिय अभ्यासलाइ समेत समेटेको छ ।
मानिसको वित्तीय योजना (फाइनान्सियल प्लानिङ) भित्र दैनिक खर्च व्यवस्थापन, लगानी, निवृत्त जीवनको वित्तीय योजना, करसँगै जीवन बिमा पनि पर्छ । जीवन बिमा मानिसको जीवनलाई आधार बनाएर गरिने बिमा हो । जुन धेरैका लागि कम रुचि तर बढी आवश्यकताको विषय पनि हो ।
यस्तै जीवन बिमालाई आवश्यकता अनुसार जीवनमा कसरी अधिकतम प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सर्वसाधारणलाई जानकारी दिनु पनि यो पुस्तकको उदेश्य रहेको भट्टराई बताउँछन् । उनले भने, ‘जसरी हामी लगानीका विविध विकल्पहरुलाई हाम्रो लक्ष्य वा योजना सँग जोड्छौ जीवन बिमालाई पनि हाम्रा विभिन्न आवश्यकता सँग जोड्दै लग्न सकिन्छ । जस्तो बचत, बच्चाको शिक्षा, विवाह, निवृत्त जीवनका लागि आवश्यक पैसा, परिवारको वित्तीय सुरक्षा, मृत्यु पछि सम्पत्ति हस्तान्तरण, सम्पत्ति हस्तान्तरणमा लाग्ने करको व्यवस्थापन, मृत्यु संस्कारमा लाग्ने खर्चको व्यवस्थापन जस्तो धेरै विषयलाई जोडेर जीवन बिमाको प्रयोग गरि बित्तीय योजना बनाउन सकिन्छ । यसैले जीवन बिमा मृत्यु पछि धनी बन्न गरिने लगानी हो भन्ने धेरै मानिसको बुझाइ भन्दा धेरै फरक पनि छ ।’
भट्टराईले यसअघि सेयर मन्त्र, सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जस्ता पुस्तक लेखि सकेका छन । पाठकका रुचि, विचार, सल्लाह र सुझाव नै लेखनको महत्वपूर्ण उर्जा रहेको भट्टराई बताउँछन् भने उनले बिमा प्राधिकरणका ऐन, नियम, निर्देशिकाहरुमा ल्याइएका परिवर्तन सँगै पुस्तकलाई समय सापेक्ष परिमार्जन गर्दै जाने प्रण पनि गरेका छन् । २१६ पेज रहेको यो किताबको मूल्य ३६५ रुपैयाँ राखिएको छ ।




