
बैंकिङ खबर/ नेपाल उद्योग परिसंघले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्न नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएको छ ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार बिहान प्रधानमन्त्रीको निवास खुमलटारमा भेटवार्ता गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले प्रधानमन्त्री प्रचण्डलाई निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्रीसमक्ष पेस गरेको छ ।
परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । परिसंघको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने अध्यक्ष अग्रवालले विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए । “मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिए । परिसंघले स्पष्ट रूपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद,” उनले भने । उनले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको र यसका लागि परिसंघसँगसहकार्य गर्ने बताए ।