Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकार गम्भीरः प्रधानमन्त्री दाहाल

२०७९ पुष १२ गते

बैंकिङ खबर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकार गम्भीर भएको बताएका छन् । खुमलटारस्थित निजी निवासमा मंगलबार बिहान भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो मन्त्रिपरिषदको बैठकले अर्थतन्त्र सुधारका लागि कदम चाल्ने निर्णय गरिसकेको बताए । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवं पूँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने निर्णय गरेको थियो ।

व्यवसायीका पीर मर्काका बारेमा आफू जानकार रहेको बताउँदै सरोकारवालाहरुसाग बृहत छलफल गरेर समस्या समाधान गर्ने प्रचण्डले विश्वास दिलाए ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको अवगत गराएको थियो ।

बिहान ८ बजे महासंघको टोली बधाई दिन खुमलटारस्थित प्रचण्ड निवास पुगेको थियो । प्रतिनिधि मण्डलमा अध्यक्ष गोल्छासहित बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, निवर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष अञ्जन श्रेष्ठ र महानिर्देशक गोकर्ण अवस्थी सहभागी थिए ।

निजी क्षेत्रको लगानी संकुचित भई राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागु भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको महासंघको दाबी छ । यसअघि गत मंसिर १९ गते महासंघको टोलीले खुमलटार पुगेर प्रचण्डलाई अर्थतन्त्रको समस्याबारे ब्रिफिङ गरेको थियो ।

भेटमा व्याजदरको उतारचढाव, राष्ट्रिय अन्तराष्ट्रिय आर्थिक असहजता, अन्तराष्ट्रियरुपमा आकाशिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिष्टिक्स र फ्रेट शुल्कमा समेत बृद्धि भएकाले अनुमानित वित्तीय विवरण निर्धारण र चालु पूँजीको वास्तविक आवश्यक सीमा निर्धारण बीच तादाम्यता नमिल्ने र चालु पूँजीको अभावमा उद्योग सञ्चालनमै कठिनाई उत्पन्न भएको जानारी प्रचण्डलाई गराइएको थियो ।

Ad