
बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २५ वाणिज्य बैंकमध्ये हालसम्म १८ वटा बैंकले सेयरधनीलाई लाभांश दिने भएका छन् । आव २०७८÷७९ को मुनाफाबाट वितरण हुने यो लाभांश अधिकांश बैंकले यस पटक नगदमै दिने भएका हुन् ।
लाभांश वितरणको प्रस्ताव गर्ने वाणिज्य बैंकमध्ये अहिलेसम्म सर्वाधिक लाभांश दिनेमा नबिल बैंक रहेको छ भने सबैभन्दा कम दिनेमा सेन्चुरी बैङ्क रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, एनएमबी बैंकले नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् ।
सात वाणिज्य बैंकले भने लाभांश घोषणा गर्न बाँकी छ । लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा माछापुच्छे«, एनआईसी एसिया, कृषि विकास, हिमालयन, लक्ष्मी, सनराइज र सिभिल बैंक रहेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन ।
ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एनसीसी, कुमारी बैंक र सानिमा बैंकले साधारण सभा सम्पन्न गरेरै लाभांश वितरणको प्रस्ताव पनि पारित गरिसकेका छन् ।
आव २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई सर्वाधिक लाभांश दिनेमा नबिल बैंक रहेको छ । गत आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । यो बैंकले अघिल्लो आर्थिक वर्ष ३८ प्रतिशत लाभांश दिएको थियो ।
वाणिज्य बैंकमध्येको कान्छो सेन्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई सबैभन्दा कम ५ प्रतिशत मात्रै लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको ३७२औँ बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पास गरेको हो । बैंकको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय बैंकले गरेको छ ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण हुनेछ । सेन्चुरी बैंक र प्रभु बैंक लिमिटेडबीच मर्जरसम्बन्धी सम्झौता भएर आगामी पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढिसकेको छ ।
सरकारी स्वामित्वको नेपाल बैंकले आव २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयरभन्दा नगद नै धेरै दिन लागेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (करसहित) गरी १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ भने बैंकको आगामी वार्षिक साधारण सभाले पनि पारित गर्नुपर्ने हुन्छ ।
ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरिसकेको छ । बैङ्कको मङ्सिर २३ गते बसेको १६औँ वार्षिक साधारण सभाले आव २०७८/७९ को कुल मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।
यस्तै ग्लोबल आईएमई बैंकसँग मर्जर हुन लागेको बैंक अफ काठमाण्डूले आफ्ना सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकको मङ्सिर २३ गते सम्पन्न २८औँ वार्षिक साधारण सभाले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो, जसमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ४.९५ प्रतिशत नगद लाभांश रहेको छ । सिद्धार्थ बैंकले आव २०७८/७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको हो ।
एभरेस्ट बैंकले १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद गरी २०.६८ प्रतिशत लाभांश, स्ट्यान्डर्ड चार्टर्ड बैंकले नगद लाभांश मात्रै १६.५१ प्रतिशत, सिद्धार्थ बैंकले १२.५० प्रतिशत बोनस र ०.६६ प्रतिशत नगद गरी १३.१६ प्रतिशत, कुमारी बैंकले १२.५० प्रतिशत नगद लाभांश मात्रै, एनसीसी बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश, सानिमा बैंकले १० प्रतिशत बोनस र ०.९८ प्रतिशत नगद गरी १०.९८ प्रतिशत लाभांश, नेपाल एसबीआई बैंकले ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश, सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश मात्र दिने भएको छ ।
यस्तै एनएमबी बैंकले पनि ८.२५ प्रतिशत नगद लाभांश मात्र, प्रभु बैंकले ६.५० प्रतिशत बोनस र १.५० प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश, मेगा बैंकले ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद गरी ७.८३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।