
बैंकिङ खबर/ तरलता अभावको समस्या सहकारी संस्थामा पनि देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको र सहकारी संस्थाबारे नकारात्मक कुरा आएका कारण सहकारी संस्थामा बचत आउन कम भएको हो । केही ठूला सहकारी संस्थामा समस्या आएपछि धेरै बचतकर्ता एकै पटक रकम फिर्ताका लागि आउन थालेपछि एकपछि अर्को गर्दै सहकारी संस्था समस्यामा पर्न थालेको सञ्चालकले बताउन थालेका हुन् । सामान्यतः सहकारी संस्थामा १५ देखि २० प्रतिशतभन्दा बढी तरलता राखिँदैन । तर, त्योभन्दा बढी रकमका फिर्ता गर्नुपर्ने अवस्था आएपछि समस्या देखिएको राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक रामहरि बजगाईंले बताउनुभयो ।
ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रका सहकारी संस्था बढी समस्यामा पर्ने गरेको देखिएको छ । अहिले सहरी क्षेत्रमा ६५ प्रतिशत सहकारी संस्थामा समस्या देखिएको छ भने ग्रामीण क्षेत्रमा भने त्यति धेरै समस्या छैन ।
सहकारी संस्थाबारे चलेका हल्ला र पछिल्ला समयमा बैङ्कले नै बढी ब्याज दिइरहेका कारण बचत बैङ्कतर्फ मोडिएको छ । राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक केबी उप्रेतीले ब्याजदरका कारण सहकारी संस्थाको निक्षेप बाहिरिएको बताउनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिलेसम्म मन्त्रालयले ११ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको जनाएको छ । सहकारी विभागको क्षेत्राधिकारभित्र १२५ वटा प्रारम्भिक सहकारी छन् भने देशभर ३० हजारभन्दा बढी सहकारी संस्था छन् ।
सहकारी विभागको तथ्याङ्कअनुसार आव २०७७/७८ मा सहकारी संस्थाको कुल बचत सङ्कलन ३३ अर्ब ५३ करोड ९२ लाख ४० हजार ५९९ रुपियाँ रहेको थियो भने कुल ऋण लगानी २३ अर्ब ७८ करोड ३७ लाख ७४ हजार ४९५ रुपियाँ रहेको थियो । यस्तै सहकारी संस्थाको कुल सेयर पुँजी ३२ करोड ६६ लाख २८ हजार ९५७ रुपैयाँ रहेको थियो ।