
बैंकिङ खबर/नेपाल बिमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी त्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी त्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बिमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरूलाई थप प्रभावकारी बनाउन तथा बिमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्ने उद्देश्यले नयाँ निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार अब बिमा कम्पनीको एक प्रतिशतभन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृति माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्नुपर्नेछ । यस्तै, बिमालेखमा हिताग्राही÷मनोनित उल्लेख गर्दा निजको पहिचानसम्बन्धी कागजात (नागरिकता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात) अनिवार्य लिनुपर्नेछ भने ऊक्त व्यक्ती उच्च राजनीतिक व्यक्ति भए/नभएको एकीन गर्नुपर्नेछ ।
साथै, २५ लाखभन्दा बढी बीमांक कायम गरी जारी हुने जीवन बिमालेखमा इच्छ्याईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिन पनि प्राधिकरणले निर्देशन दिएको छ । बिमकका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी उपयुक्तताको परीक्षण गर्दा निजको आपराधिक पृष्ठभूमिबारे जानकारी लिन प्रहरी प्रतिवेदन अनिवार्य गर्नुपर्ने निर्देशन पनि प्राधिकरणले दिएको छ ।
बिमकका कर्मचारी तथा बिमा अभिकर्ताका लागि सम्पक्ति शुद्धीकरण तथा आतंकवादी त्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम अभिमुखीकरणको संख्या बढाउनुपर्ने निर्देशन पनि प्राधिकरणले दिएको छ ।




