
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बजारमा बैंकिङ तरलता, ब्याजदर लगायतका समस्याले मुलुकको अर्थतन्त्रमा थप संकटमा जानसक्ने बताउनुभएको छ । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभई समग्र मुलुकको नै समस्या भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अर्बौं लगानी गरेर निजी क्षेत्रले विद्युत उत्पादन गरेको अवस्था छ । त्यसरी उत्पादन गर्ने व्यवसायीहरुको धेरै गुनासो रहेको छ । विद्युत प्रसारण र वितरणका लागि पूर्वाधार विकास नहुँदा उत्पादित विद्युत प्राधिकरणले लिन सकेको छैन । अर्बौं रुपैयाँ लगानी गरेका पीपीए हुने अवस्था रहेका आयोजनाहरुको पीपीए भएको छैन । मन्त्रीपरिषद्ले १५ सय मेगावटको पीपीए गर्ने निर्णय भएपनि कार्यान्वयन भएको छैन ।’
सरकारले तत्काल विद्युत खरिद सम्झौता (पीपीए) खुला नगरे निजी क्षेत्र विस्थापित हुने अवस्था आउनसक्ने उहाँले बताउनुभयो । सरकारले १५ सय मेगावटसम्मको जलविद्युत आयोजनालाई पीपीए दिने निर्णय गरेर पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
उहाँले निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको बताउनुभयो । विद्युतीय पूर्वाधार विकास नहुँदा विद्युत प्रसारण र वितरणका लागि उत्पादित विद्युत प्राधिकरणले लिन नसकेको ढकालको भनाइ थियो । ढकालले जलविद्युतमा निजी क्षेत्रबाट भएको लगानी पीपीए गर्न ढिला भए खर्बौंको लगानी अलपत्र पर्ने बताउनुभयो । उहाँले जलविद्युतको अर्बौंको लगानी गर्ने निजी क्षेत्र बिस्थापित हुँदा पुनः देशमा १८ घण्टाको लोडसेडिङ हुनसक्ने दावी गर्नुभयो ।