Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शाखारहित बैंकिङ सेवा : राष्ट्र बैंकले सर्वसाधारणलाई गरायो सजगता

२०७९ मंसिर २१ गते

बैंकिङ खबर/ बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्‍याउनका लागि ल्याइएको एक अवधारणालाई नै शाखारहित बैंकिङ सेवाका रुपमा लिन सकिन्छ । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ ।

अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो ऋण लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउँछन् । तर, हालसम्म वाणिज्य बैंकहरूले मात्र यस्तो सेवा दिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक शाखा नभएका क्षेत्रमा शाखारहित सेवा विस्तार गर्न पाउने व्यवस्था छ ।

यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखारहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् । यस्तो बैंकिङ सेवा हालै गएको भुकम्पको समयमा गाउँगाउँमा भुक्तानी वितरण गर्नको लागि बढी प्रयोग भएको थियो ।

यस्तो बैंकिङ सेवाले पिछडिएको, दुर्गम र दुरदराजका मानिसहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ । एउटा बैंकले शाखा विस्तार गर्नको लागि करीब ४० लाख रुपैयाँ भवन निर्माणमा खर्च गर्नुपर्ने हुन्छ तर शाखारहित बैंकिङ सेवा प्रवाह गर्दा भौतिक निर्माणको लागि बैंकहरुको खर्च नलाग्ने भएका कारण यो सेवा बैंकहरुले प्रभावकारी मानेका छन् । नेपालमा एभरेष्ट बैंकले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो ।

शाखारहित बैंकिङ सेवामा बैंकहरुले प्रयोगमा ल्याएका सबै सेवा सुविधाहरु दुरुस्तै दिन सकिन्छ । नेपालमा वित्तीय साक्षरता वृद्धि गर्नको लागि शाखारहित बैंकिङ सेवाले महत्वपूर्ण भूमिका खेलेको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई गरायो सजगता

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा अपनाउनुपर्ने सजगताका सम्बन्धमा सर्वसाधारणका लागि सचेत हुन भनेको हो । ‘अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिकाबाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ,’ सूचनामा भनिएको छ, ‘बैंकिङ पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको व्यवस्थाबमोजिम सेवा उपभोग गर्दा सुरक्षाका विषयमा विशेष ध्यान दिन सम्बन्धित सबैको ध्यानाकर्षण गरिएको छ ।’

शाखारहित कारोबार गर्दा बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत मात्र कारोबार गर्न, कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्न, कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य लिन र विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनि) मार्फत पनि आफूले गरेका कारोबारको यकिन गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए/नभएको यकिन गर्न र सेवा सम्बन्धमा केही सुझाव तथा गुनासो भए राष्ट्र बैंकको उजुरी गर्न पनि भनिएको छ ।

Ad