
बैंकिङ खबर/ सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी हुनुभएको छ । चौधरीले ४० हजार सात ८८ मत ल्याउनुभयो । उहाँले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले हराउनुभएको हो । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाउनुभयो ।
भगवतीलाई हराएर इतिहास रच्ने दाउमा रहनुभएका गच्छदारको प्रयास यसपटक भने असफल नै रह्यो । दोस्रो संविधानसभा ०७० र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा गच्छदार विरुद्ध लड्नु भएकी चौधरीले यसपटक बाजी मार्नुभयो ।
यसअघि सुनसरी ३ बाट ०४८, ०५१ र ०५६ मा नेपाली कांग्रेसबाट गच्छदार विजयी हुनुभएको थियो । राजनीति यात्रामा तीन दशकदेखि जित्दै आउनुभएका गच्छदार यस पटक पनि जित्ने दौडधुपमा हुनुहुन्थ्यो । तर भगवतीले यसपटक गच्छदारलाई सहज रुपमा पराजित गर्नुभयो । अधिकांश समय काठमाडौं बस्दै आउनुभएका गच्छदार चुनाव जित्न कठिन हुने संकेत पाएपछि पछिल्लो समय निकै सक्रिय बन्नुभएको थियो ।
अघिल्लो चुनावमा चौधरीले गच्छदार विरुद्ध धाँधलीको आरोप लगाउँदै पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । तर उक्त मुद्दामा आजसम्म पेसीसमेत चढेन ।
वित्तीय क्षेत्रदेखि संसदसम्मको यात्रा
भगवतीलाई नेपालको वित्तीय क्षेत्रको एक हस्तीका रुपमा मान्ने गरिन्छ । सुनसरीको गढी गाउँपालिका औरावनीमा जन्मिनुभएकी ५१ वर्षीया उहाँ साहसी नेतृको रुपमा परिचित हुनुहुन्छ । महिला नेतृहरुको स्थानमा उहाँको नाम अग्रस्थानमा छ ।
पारिवारिक पृष्ठभूमि समेत राजनीति र सामाजिक क्षेत्रमा रहेकोे कारण उहाँमा सानैदेखि समाजसेवा गर्ने रुची थियो । उहाँले २०५१ सालदेखि ग्रामीण महिला उत्सकुता विकास मञ्च संस्था स्थापना गरी स्थानीय महिलाहरुको हितमा शिक्षा, स्वास्थ्य, आर्थिक र कानुनी शिक्षा सचेतना फैलाउँदै आउनुभएको थियो ।
२०५९ देखि फरवार्ड लघुवित्त स्थापना गरी महिलाहरुको आर्थिक विकासमा जोड दिँदै आउनुभएको छ । फरवार्डले अहिले सुनसरीसँगै मुलुकका ४० भन्दा बढी जिल्लाका ग्रामिण भेगका तीन लाख बढी महिलाको अनुहारमा उज्यालो ल्याउन सफल भएको छ । सुनसरीको दुहवीमा रहेको फरवार्ड लघुवित्त वित्तीय संस्था मुलतः गरिबीको रेखामुनि रहेका तथा न्यून आय भएका ग्रामिण भेगका महिलाको जीवन स्तर उकास्न तल्लिन छ ।
भगवतीले २०४८ मा नेकपा एमालेको पार्टी सदस्यता लिँदै राजनीतिमा प्रवेश गर्नुभएको थियो । महिलाको क्षेत्रमा काम गर्दै आउनुभएकी उहाँ २०५८ देखि सक्रिय राजनीतिमा लाग्नुभयो । ०६४ मा नेकपा एमाले सुनसरी सदस्य हुँदै २०७० मा कोसी अञ्चल कमिटी सदस्य बन्नुभयो । नेकपा एमालेको नवौं र दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख बन्नुभएको छ । उहाँ हाल सुनसरी सहइन्चार्ज हुनुहुन्छ । उहाँ २०६८ मा करिब ६ महिना वन तथा भू–संरक्षण राज्यमन्त्री बन्नुभएको थियो । ०६४ मा संविधानसभा सदस्यमा मनोनित हुनुभयो । समाजशास्त्र तथा व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गर्नुभएको उहाँ हाल इलेक्ट्रोल सिस्टम डेमोक्रेसीमा विद्यावारिधि हुनुहुन्छ ।
हजुरबुवा र हजुरआमाबाट पढ्ने हौसला पाउनुभएकी उहाँ आफुजस्तै उमेरका केटाकेटीहरु खासगरी मुसहर समुदायका बालबालिका विद्यालय जानबाट वञ्चित भएको देख्दा असाध्यै दुःख लाग्थ्यो । उहाँमा साथीहरु र दिदी–बहिनीको शिक्षाका लागि अभिभावकसँग मुकाविला गर्ने क्षमता सानैदेखि थियो । अहिले पनि विद्यालय शिक्षाबाट वञ्चित भएका डेढ सय बालबालिकालाई आफ्नै क्षत्रछायाँमा शिक्षादिक्षा दिइरहनुभएको छ । साथै, आजका युवाहरुलाई प्राविधिक शिक्षामा पहुँच पुर्याउने उद्देश्यले गाउँमै प्राविधिक कलेज समेत स्थापना गरिदिनुभएको छ ।
बंगलादेशका नागरिक नोवेल शान्ति पुरस्कार विजेता मोहम्मद यूनुसबाट प्रभावित भएर ग्रामिण आर्थिक सवलीकरण, महिला उत्थान र सामाजिक कार्यमा समर्पित नेतृ चौधरीले देशका तीन लाख बढी महिलामा वित्तीय पहुँच पुर्याउनुभएको छ ।
ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत वित्तीय साक्षरता र सामाजिक सचेतनाहरु फैलाउँदै फरवार्ड माइक्रोफाइनान्सबाट ग्रामिण महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा दिनेश चौधरी स्मृति प्रतिष्ठानमार्फत सामाजिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।
चौधरीसँग महिला सशक्तिकरण, ग्रामिण अर्थतन्त्र सवलीकरण र युवा स्वरोजगारका विषयमा योजना र लक्ष्यहरु रहेका छन् । अध्ययन, तालिम र विभिन्न कार्यक्रममा सिलसिलामा २२ भन्दा बढी देश पुगिसक्नुभएकी चौधरीले आफुलाई स्वदेशमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा समेत उभ्याउने अभियानमा हुनुहुन्छ । विभिन्न अन्तराष्ट्रिय सभा, सम्मेलन र गोष्ठिहरुमा सहभागी हुँदा उहाँको भूमिका र प्रस्तुति सशक्त हुने गरेको छ ।
यूनिसेफले बंगलादेशको ढाकामा गरेको बालबालिका शिक्षा सम्बन्धि तालिममा महत्वपुर्ण रुपमा सहभागीता जनाएकी चौधरीले जर्मन, इटाली, अष्ट्रेलिया, ब्राजिल जस्ता मुलुकले मारेको आर्थिक विकासको फड्कोबाट नेपालले कसरी लाभ लिन सक्छभन्ने अध्ययन गर्नुभएको छ भने नेपालमा आफ्नो संस्थाले गरेको प्रगतिको कथा सुनाउन उहाँ विश्वका विभिन्न मुलुकहरु गइरहनुहुन्छ । उहाँको संघर्षको योगदान स्वारुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाइ सक्नुभएको छ । उहाँले संविधानसभा सदस्य पदक, २०६५ पाउनुभएको थियो ।
सुनसरी क्षेत्र नं. ३ का जनतालाई गरिबीको रेखामुनीबाट उकास्दै विकासको राजधानी बनाउने सपना चौधरीले देख्नुभएको छ । निर्यातमुखी कृषि, युवा स्वरोजगार र प्राविधिक शिक्षाको मुल नारा लिएर चुनावी मैदानमा उत्रिनुभएकी चौधरीले जनताको विश्वासको मतलाई धोका नदिने बताउनुभएको छ ।
भगवती चौधरीले निर्वाचन जितेसँगै अहिले वित्तीय क्षेत्रमा उल्लास छाएको छ । नीति निर्माण गर्ने ठाउँमा यस क्षेत्रका विषयलाई पनि प्राथमिकता दिइनेमा उनीहरु ढुक्क छन् ।