Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अचाक्ली बढ्यो मूल्यवृद्धि

२०७९ मंसिर ६ गते

बैंकिङ खबर/ पछिल्लो समय मूल्यवृद्धि अत्याधिक बढेको छ । गत असोज महिनामा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर ८.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ४.२६ प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको असोजमा यस्तो मूल्यवृद्धिदर ४.२४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ८.८५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य वृद्धिदर १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुल्यवृद्धि २१.१५ प्रतिशत, स्वास्थ्यको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि ८.५० प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

चुनावमा झन् बढ्यो मूल्यवृद्धि

अझ निर्वाचनको मौका छोपी व्यापारीहरूले चामल, खाने तेल, दाल, आँटा, ड्राई फ्रुटलगायतको मूल्य बढाएका छन् । एक महिनाअघि १७ सय रुपैयाँ रहेको २५ किलो चामलको भाउ बढेर २ हजार ५० रुपैयाँ पुगेको छ । लिटरको २ सय ३० रुपैयाँ रहेको भटमास तेलको मूल्य २ सय ५०/६० रुपैयाँ, सनफ्लावरको मूल्य २ सय ४० रुपैयाँबाट २ सय ६५ रुपैयाँ पुगेको छ ।

खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरका अनुसार तेल, आँटा÷मैदासँगै तिल, ड्राई फ्रुटको मूल्य बढेको छ । केही वस्तुको मूल्य भारतमै बढेकाले यहाँका होलसेल व्यवसायीहरूले मूल्यवृद्धि गरेको तुलाधरले बताए । होलसेलमा मूल्य बढेपछि खुद्रामा स्वतः बढ्ने उनको दाबी छ ।