
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले अहिले बढेको ब्याजदरलाई घटाएर एक अंकमा सीमित गर्न सकिने भए पनि नेतृत्वमा रहेकाहरुको स्वार्थ बाझिएकाले समस्या भएको बताउनुभएको छ ।
कानून बनाउनेहरुको स्वार्थ बाझिएकाले अहिले उद्योगी र बैंकहरुबीच समस्या बढेको बताउँदै उहाँले कानून बनाउने सांसदहरुको स्वार्थ जोडिएकाले सहज नभएको बताउनुभयो ।
बैंकको स्प्रिड दर घटाउने, आधार दर साढे ७ वा ८ प्रतिशतमा झार्ने र सीडी रेसियो कम गर्ने हो भने बैंकको ब्याजदर घटाउन सकिने नेपालको तर्क छ ।
अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् भने कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि पु¥याएका छन् ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको उद्योगी व्यवसायीसँगको छलफलमा पूर्वगभर्नर नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताउँदै एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित उद्योगी–व्यवसायी मोटाउने तथा साना तथा मझौला उद्योगी व्यवसायी दुब्लाउने अवस्था आएको बताउनुभयो ।
उहाँले यसको अन्त्य गर्न उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताउनुभयो । ब्याजदर घटाउन सरकारले पनि ठोस आर्थिक नीति ल्याउन नसकेको पूर्वगभर्नर नेपालको टिप्पणी थियो । ‘पूँजीगत खर्च बढाउन सक्ने हो र बजारमा पैसा आउने हो भने ब्याजदर स्वतः घट्छ’, उहाँले भन्नुभयो, ‘यसका लागि सरकारले उद्योगमा लगानी बढाउनुपर्छ ।’
सरकारले आर्थिक सुधारको नीति अवलम्बन गर्नुको साटो केन्द्रीय बैंकसँग निहुँ खोज्ने काम गरेको र केन्द्रीय बैंकले पनि मौद्रिक नीति बनाउँदा अहिलेको अर्थतन्त्रको मूलभूत समस्या सम्बोधन गर्न चुकेको उहाँको भनाइ छ ।
अर्थतन्त्रमा संकट आए पनि नेपाल श्रीलंकाको अवस्थामा भने नपुग्ने उहाँको विश्लेषण छ । ‘श्रीलंका मूलतः चर्को ब्याजमा लिएको वैदेशिक ऋणको मारमा परेर संकटमा पुगेको हो’, पूर्वगभर्नर नेपालले भन्नुभयो, ‘तर, नेपालले लिएको वैदेशिक ऋण सहुलियतपूर्ण ब्याजदरमा छ । ७ अर्बमा झरेको विदेशी मुद्राको सञ्चिती ९ अर्ब ३५ करोड पुगेको छ । त्यसैले डराउनुपर्ने अवस्था छैन ।’
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीहरु ठूलो मारमा परेको भन्दै निकासका लागि पहल गर्न आग्रह गरेका थिए ।