Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सहकारी क्षेत्रका समस्या विस्तारै कम हुँदै भएको छः अध्यक्ष कँडेल

२०७९ कार्तिक २६ गते

बैंकिङ खबर/ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको बताउनुभएको छ । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उहाँले केही समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएको भएपनि ती समस्या विस्तारै कम हुँदै गएको बताउनुभयो । तर, बैंक तथा वित्तीय क्षेत्र जस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत रहेको उहाँको भनाइ छ ।

सहकारी क्षेत्रका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघ लागि परेको पनि उहाँले बताउनुभयो । अब गल्तीहरुलाई औल्याएर अगाडि बढ्नु पर्ने उहाँले बताउनुभयो । उहाँले सहकारी क्षेत्रका विषयवस्तुलाई सञ्चार क्षेत्रमा प्राथमिकता दिनका लागि सहकारी क्षेत्र र सञ्चार क्षेत्रको सम्बन्ध मजबुद बनाउन आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय सहकारी महासंघ १० वर्षे नीतिहरु अगाडि सारेर काम गरिरहेको बताउँदै उहाँले सिंगो सहकारी क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरु पनि अहिले वित्तीय विवरण सार्वजनिक गर्नमा ध्यान दिएको बताउँदै अब विस्तारै सहकारी संस्थाहरुको वास्तविक अवस्था थाहा पाउन सहयोग पुग्ने बताउनुभयो ।