
बैंकिङ खबर/ ९ वटा फाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीहरुले चालु आवको असोज मसान्तसम्ममा कुल १६ करोड ६ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका छन् । ९ फाइनान्स कम्पनीमध्ये ५ वटाको नाफा प्रभावित भएको छ ।
९ फाइनान्स कम्पनीमध्ये सेन्ट्रल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट, बेस्ट फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको नाफा प्रभावित भएको हो । यस्तै, वित्तीय विवरण सार्वजनिक गरेका मञ्जु श्री फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स र गोर्खाज फाइनान्सको भने नाफा बढेको छ ।
गत आवको सोही अवधिको तुलनामा सेन्ट्रल फाइनान्सको नाफा ३१.३७ प्रतिशतले ९३ लाख ६६ हजार रूपैयाँमा सीमित भएको हो । अघिल्लो आवमा फाइनान्सले १ करोड ३६ लाख ४८ हजार रूपैयाँ नाफा कमाएको थियो ।
प्रोग्रेसिभ फाइनान्सको नाफा ३१.९० प्रतिशतले घटेर २ करोड २९ लाख ३१ हजार रूपैयाँमा खुम्चिएको छ । गत आवको यसै अवधिमा यस फाइनान्सले ३ करोड ३६ लाख ७४ हजार रूपैयाँ नाफा कमाएको थियो ।
श्री इन्भेष्टमेन्ट फाइनान्स र बेस्ट फाइनान्सको नाफा ५० प्रतिशत भन्दा धेरैले प्रभावित भएको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा श्री इन्भेष्टमेन्टको नाफा ८९.६७ प्रतिशत र बेसट फाइनानस्को नाफा ९५.१० प्रतिशतले घट्न पुगेको हो ।
चालु आवको असोज मसान्तसम्ममा श्री इन्भेष्टमेन्टले २८ लाख ७२ हजार रुपैयाँ र बेस्ट फाइनान्सले ५९ लाख ३३ हजार रुपैयाँ नाफा कमाएका छन् ।
गत आवको सोही अवधिमा श्रीले २ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, बेस्टले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.५७ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यो त्रैमासमा कम्पनीले सञ्चालन मुनाफाबापत २५ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ४ रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा ८७.५५ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा कम्पनीले ६ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ करोड २ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ३४.१६ प्रतिशतले बढेको छ ।
पहिलो त्रैमासमा कम्पनीले ६ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी ९५ करोड ४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार २६.२२ प्रतिशतले घटेर २८ करोड ४० लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा ३८ करोड ४९ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको खराब कर्जाको अनुपात (एनपीएल) बढेर २.८१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.७२ प्रतिशतमा सीमित थियो । सीडी रेसियो ८४.६७ प्रतिशत रहेको कम्पनीको आधारदर १३.१७ प्रतिशत छ।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ०.९६ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ७.२९ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.४५ रुपैयाँ रहेको छ।
वित्तीय विवरण सार्वजनिक गर्ने ९ फाइनानसमध्ये ४ वटाको नाफा बढेको छ । नाफा बढेका ४ फाइनान्समध्ये पोखरा फाइनान्सले सबैभन्दा धेरै प्रतिशतले नाफा बढाएको छ । चालु आवको पहिलो त्रैमासमा फाइनान्सले ४६ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा फाइनान्सको नाफा २६१.६० प्रतिशतले बढेको हो । फाइनान्सले अघिल्लो आवको सोही अवधिमा १२ लाख ९७ हजार रूपैयाँ नाफा कमाएको थियो ।
यस्तै, मञ्जु श्री फाइनान्स, नेपाल फाइनान्स र गोर्खाज फाइनान्सको नाफा गत आवको सोही अवधिको तुलनामा बढेको हो । गत आवको सोही अवधिको तुलनामा मञ्जु श्री फाइनान्सको नाफा १४७ं९२ प्रतिशतले बढेर ७ करोड ११ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, नेपाल फाइनान्सको नाफा १३२.९२ प्रतिशतले बढेर ८१ लाख ७९ हजार रुपैयाँ र गोर्खाज फाइनान्सको नाफा १०१.०५ प्रतिशतले बढेर ३ करोड ३३ लाख १४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा मञ्जुले २ करोड ८६ लाख ९३ हजार रुपैयाँ, नेपालले ३५ लाख २४ हजार रुपैयाँ र गोर्खाजले १ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएका थिए ।