Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘लघुवित्तका कमजोरीहरुलाई बेलैमा अङ्कुश लगाऔँ’

२०७९ कार्तिक २ गते

– उपेन्द्र न्यौपाने-

नेपाल एक विकासोन्मुख राष्ट्र भएकोले यहाँका अधिकांश जनता गरिबीको रेखामुनि रहेका छन् । जो बैंकिङ कारोबारबाट वञ्चित मात्र होइनन् अनविज्ञ छन् । अझै पनि गाउँघरमा सयकडा दुई, तिन मात्र नभई मिटर ब्याजी नै सक्रिय रहेको ज्वलन्त उदाहरण देखिरहेका छौँ । बैंकिङ पहुँचको अभावको कारण गरिब र अशिक्षित जनता गाउँघर कै चक्रवृत्ति ब्याज प्रणालीबाट कर्जा लिन बाध्य छन । जसको कारण आफनो सम्पुर्ण जायजेथा बेच्दा पनि साहुको कर्जा चुक्ता हुँदैनन् र घरबार विहिन हुन पुगेका छन् ।

यदि आफुसँग धितो राख्ने सम्पत्ति छैन भने त ती जनताले कर्जा पाउने कुरै भएन । यदि आफनो नाममा जग्गा जमिन छ भने पनि गाउँको भिर पाखा बारीको धितो मुल्याङ्कन नै पुग्दैन घर बाट बैंक सम्म पुग्न घन्टौँ लाग्ने अवस्था छ । आफुसँग भएको धेरथोर रकम भविष्यको लागि बचत गरौँ भने पनि बैंक टाढा भएको कारणले गर्दा त्यो असम्भव नै छ ।

यस्तो अवस्थामा एउटै विकल्प भनेको लघुवित्त हो किनकी घाम, पानी, हुरी, बतास, बाढीपहिरो कुनै चिजको प्रवाह नगरी विकट गाउँबस्तीको दैला दैलामा पुगेर बैंकिङ सेवा प्रदान गर्न सक्ने एक मात्र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त लघुवित्त वित्तीय संस्था हो । आजको नेपालमा गाउँ गाउँमा वित्तीय सेवाको साथ साथै वित्तीय साक्षरता प्रदान गर्ने भनेको लघुवित्त नै हो ।

जग्गा जमिन नभएका विकट गाउँँबस्तीका जनतालाई बिनाधितो कर्जा प्रवाह गरिरहेको हुन्छन् । घर घरमा गएर एक-एक रुपैयाँ बचत संकलन गरी गाउँ बस्तीमा बचत गर्ने बानीको विकास साथै वित्तीय सचेतना फैलाईरहेका छन् ।

लघुवित्तकै कारण गाउँका साहु महाजन तथा सय कडा दुई तिन मात्र नभई मिटर ब्याजसम्म लिन पल्किएकाहरुको आज सात्तो गएको छ । जसकारण आज उनीहरु लघुवित्त नै खारेजी सम्मको अफवाह फैलाई रहेका छन ।

हुन् त उनीहरुको लुटको साम्राज्य नै भत्काइदिने लघुवित्त संस्था खारेज गर्नुपर्छ भन्नु उनीहरुको लागी ठिकै हो किनकी लघुवित्त रहेसम्म उनीहरुको लुटतन्त्र अघि बढ्न सक्नेवाला छैन ।

हुन त लघुवित्त संस्थाको पनि केही कमजोरीहरु होलान, जसलाई नियामक निकायले बेलैमा अङ्कुश लगाउनुपर्छ । जसले गर्दा अझै स्वच्छ र नवीनतम सेवा प्रदान गर्न सकीयोस् । शहर र बजार केन्द्रित हुन खोजेका लघुवित्त संस्थाहरुलाई अझै गाउँगाउँ र बस्तीबस्तीमा पुर्याउनुपर्दछ । जसको केही र कोही छैन उसलाई लघुवित्त छ भन्ने बनाउनुपर्दछ ।

नेपालको प्रत्येक गाउँको वडा वडामा लघुवित्त संस्थाका शाखा खोल्नु पर्दछ तब मात्र लगानी योग्य पुँजीको विकास हुने छन । जसले पिछडिएको जनतामा व्यावसायिक धारणाको विकास गराउने छ । अनि मात्र सम्पूर्ण जनताले बैंकिङ पहुँचको महसुस गर्न पाउनेछन् । यसकारण नेपालमा सक्रिय लघुवित्त सेवाको आवश्यकता छ ।

(न्यौपाने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडमा शाखा प्रबन्धक हुनुहुन्छ ।)