
बैंकिङ खबर/ नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवद्र्धित नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच संस्थालाई एक आपसमा गाभ्ने /गाभिने(मर्जर) सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउन दुबै संस्थाका सञ्चालक समितिका अध्यक्षद्वारा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
आपसी समझदारी अनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर स्वाप रेसियो अनुपात रु.८२ (अर्थात् समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बरावर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता) कायम हुने र मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति गरिएको छ ।
मर्जर पश्चात हुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुनेछ । त्यसैगरी संस्थाको चुक्तापूँजी रु.१ अर्व भन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम रु. १७ अर्ब भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्नेछ ।


