
बैंकिङ खबर/ सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेमा कृषि विकास बैंक अगाडि छ। सो बैंकमार्फत १५ हजार ५ सय ६६ ऋणीले कर्जा पाएका छन्। राष्ट्रिय वाणिज्य बैंकले ११ हजार ५ सय १ जनालाई, नबिलले ७ हजार ७ सय ७, नेपाल बैंकले ६ हजार ९ सय ९४ जनालाई, एनएमबी बैंकले ६ हजार ३ सय ४, मेगा बैंकले ६ हजार १ सय ९९ र मुक्तिनाथ विकास बैंकले ६ हजार ८६ ऋणीलाई प्रदान गरेका छन्। यसबाहेकका बैंक तथा वित्तीय संस्थाले ६ हजारभन्दा कम ऋणीलाई यस्तो ऋण दिएका छन्।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तसम्ममा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ बमोजिम १ करोड रुपैयाँँभन्दा बढी सहुलियतपूर्ण कर्जा उपयोग गरेका ऋणी २ हजार ९२ पुगेका छन्। यसअन्तर्गत कृषि बैंकबाट मात्रै व्यावसायिक खेती गर्नेले प्रदेश १ बाट १९ जनाले १ करोड माथिको कर्जा लिएका छन्।
जसमा आरोही कृषि फर्म, आचार्य कृषि फर्म, बालीका कृषि फर्म, विवेक कृषि फर्म, मकालु हिमालयन एग्रो टुरिजम, नमुना कृषि फर्मलगायत छन्। यस्तै कृषि विकास बैंकबाटै मधेस प्रदेशबाट १३ ओटा व्यावसायिक फर्मको नामबाट सहुलियत कर्जा लिइएको छ। यस्तै बागमतीका १८ व्यावसायिक कम्पनीको नामबाट कर्जा लिएका छन्। यसअन्तर्गत एआर पोल्ट्री फर्म, अग्रसर पोल्ट्री फर्म, एग्रो नारायणी प्रालि, आकाश पोल्ट्री एन्डएग्स फार्म, बीबीआर एग्रो, धुलिखेल युथ भिजन मल्टिपर्पोज, चिरायु पशुपालन तथा कृषि, सडलाराम कृषि फर्म प्रालिलगायतले कर्जा उपयोग गर्न पाएका छन्।