
बैंकिङ खबर/ मर्जर सम्झौता गरेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले एकीकृत कारोबारको मिति तोकेका छन् । मर्जरमा जाने सम्झौता गरेका १७ कम्पनीहरुले बीमा समितिलाई एकीकृत कारोबार गर्ने मिति बुझाएका हुन् ।
मर्जर सम्झौता गरेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले भने साउन १ गतेदेखि नै एकीकृत कारोबार गर्दै आइरहेका छन् । मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुँदै आइरहेको छ ।
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स, प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफ, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले कात्तिक महिनाभित्र एकीकृत कारोबार गर्ने भएका छन् ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने पुस महिनादेखि मात्रै एकीकृत कारोबार थाल्ने समितिले जनाएको छ ।
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले भने चैतमा मात्रै एकीकृत कारोबार थाल्नेछन् । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले भने एकिकृत करोबार थाल्ने मिति तोक्न सकेका छैनन् ।
बीमा समितिले गत चैत १० गते पूँजी बढाउन निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनहिरुले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब रूपैयाँ न्यूनतम चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।