
बैंकिङ खबर/ नेपालका वाणिज्य बैंकहरुमध्ये एक अग्रणी स्थानमा रहेको एनआईसी एशिया बैंकले एक वर्षको अवधिमा ४ अर्ब ५२ करोड बढी नाफा कमाउन सफल भएको छ । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कुल ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३८.८६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७/७८ मा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
हालसम्म जारी रिपोर्ट अनुसार शीर्ष बैंकहरुमा ठूलो नाफा आर्जन गर्नेमा एनआईसी एशिया दोस्रो नम्बरमा रहन सफल भएको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ छ ।
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा ९ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २६ वटा वाणिज्य बैंकहरुले सो नाफा गरेका हुन् । जसमध्ये सबैभन्दा बढी नबिल बैंकले कमाएको छ । बैंकले एक महिनामै ८१ करोड रूपैयाँ बढी नाफा गरेको छ । त्यस्तै, बढी नाफा गर्नेको दोश्रोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ७५ करोड २० लाख, तेस्रोमा ग्लोबल आइएमईले ६७ करोड ३० लाख खुद नाफा गरेको छ ।
यस्तै, एनआइसी एशियाले ४७ करोड ६० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड २० लाख रुपैयाँ, प्राइम कमर्सियलले ३९ करोड ५० लाख, प्रभुले ३७ करोड ६० लाख, सिद्धार्थले ३७ करोड ५० लाख, एनएमबिले ३६ करोड, एभरेष्टले ३५ करोड ९० लाख, नेपाल बैंकले ३७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरुभन्दा एनआईसी एशिया अग्रणी स्थानमा रहेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।