
सूर्य प्रसाद सिलवाल
अध्यक्ष, बीमा समिति
काठमाडौं उपत्यकामै १२ प्रतिशत भन्दा बढी नागरिकले बीमा गरेका छैनन् । उपत्यकामै यस्तो अवस्था छ भने अन्य क्षेत्रमा कस्तो होला ? यसको आँकडा धेरै ठूलो छ । बीमाको बारेमा बुझाउन नसकेकाले यस्तो अवस्था आएको हो ।
मान्छेले नजानेर, वा नबुझेर नै बीमा नगरेका हुन् । धेरै नागरिकले बीमा नगरेको अवस्थामा पनि बीमा कम्पनीले त्यसप्रति ध्यान दिन सकेका छैनन् । बीमा कसरी बढाउने भन्ने विषयमा बीमा कम्पनीले नै नीति बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । मैले बीमा क्षेत्रमै ३० वर्षदेखि काम गर्दै आएको छु । मेरो अनुभवमा बीमा क्षेत्रमा राम्रो पोलीसी ल्याउन सकियो भने धेरै व्यक्तिलाई जोड्न सकिन्छ ।
सरकारले नै बीमा बारेमा बुझेको छैन । सरकारले नै नबुझेपछि झन् आम सर्वसाधारण जनताले बुझ्ने कुरै भएन । हामीले बीमाको बारेमा सरकार र सर्वसाधारण दुबैलाई बुझाउनुर्छ ।
अध्ययन बिना बीमा कम्पनी खोलिए
नेपालमा हचुवाको भरमा बीमा कम्पनी खोलिएका छन् । धेरै बीमा कम्पनी छन् तर तिनिहरुको पूँजी कम छ । कुनै अध्ययन बिना बीमा कम्पनीहरु खुलेका हुन् । हाम्रो मुलुकमा धेरै संख्यामा बीमा संस्थानहरु खुल्यो तर त्यो पूर्णरुपमा अध्ययन भएर खोलिएको संस्थान होइन । हाम्रो भूगोलमा कतिवटा जीवन र निर्जीवन बीमा कम्पनी आवश्यक छ । त्यो अध्ययन भएको छैन । तर यो वर्ष पक्का अध्ययन हुन्छ । अध्ययन नभई खुलेका बीमा कम्पनीहरुको पूँजी कम छ ।
पूँजी कम भएकाले समयमा भुक्तानी दिन सक्दैनन् । त्यसले गर्दा समग्र बीमा क्षेत्रको बदनाम हुन्छ । बीमा कम्पनीले जसरी जतिसुकै प्रचार प्रसारण गरेपनि दिनुपर्ने भुक्तानी समयमा दिएन भने त्यसले गलत सन्देश जान्छ ।
राम्रो कुरा ५ जनालाई भन्ने गरिन्छ भने नराम्रो कुरा ५० जनालाई भन्ने गरिएको छ । त्यसैले जतिसक्दो बीमा कम्पनीले समयमा भुक्तानी दिएमा समग्र बीमा क्षेत्रलाई नै फाईदा हुन्छ । बीमा बापतको रकम समयमा भक्तानी गर्नलाई पूँजी आवश्यक भएकाले पूँजी बढाउनुपर्छ । यदि पूँजी नबढाउने हो भने बीमा कम्पनी समस्या पर्ने र पूँजी बढी भएका कम्पनीको पनि बदनाम हुन्छ ।
पूँजी बढेमा सकारात्मक सन्देश प्रवाह हुन्छ । लगानी बढ्छ, क्षमता बढ्छ, सरकारमा सकारात्मक सन्देश प्रभाह हुन्छ, त्यसैले बीमा कम्पनीहरु पूँजी बढाउनतर्फ लाग्नुपर्छ ।
प्रविधिको युग
जति धेरै प्रविधि भित्र्याउन सक्यो त्यति नै बीमा क्षेत्रको विस्तार हुन्छ । हामीले जति धेरै प्रविधिमैत्री भयो त्यति धेरै यसको क्षेत्र विस्तार हुन्छ । अबको युग प्रविधिको युग हो । हामीले प्रविधिमा धेरै ख्याल गर्नुपर्छ । प्रविधिमा समेत नयाँ–नयाँ कुरा भित्र्याउनु पर्छ । संघीयता आएको र यसले गाउँ–गाउँमा सिंहदरबर पुगेको हुनाले हामीले प्रविधिको प्रयोग गरेर काम गर्न सकिन्छ । बीमा कम्पनीले संसारमा भएको अभ्यास, यहाँ भइरहेको अभ्यासलाई नेपालको भूगोल सुहाउँदो तरिकाले सबैले बुझ्ने, सबैलाई सुहाउने, पोलीसी बनाएर काम गर्नुपर्छ ।
बीमा गर्दा किन दिनको २ सय रुपैयाँ तिर्ने ?, मलाई दिनको २५ रुपौयाँ मात्र तिरेर बीमा गर्नुछ । मलाई दैनिक २ रुपौयाँ मेरो मोबाईलबाट तिरेर बीमा गर्नुछ । खै त्यस्तो सुविधा ?, कम्पनीले यो बारेमा सोच्न जरुरी छ । यो एउटा सानो उदाहरण मात्र हो । यस्तै अन्य धेरै उपायहरु बीमा क्षेत्रका लगाउन सकिन्छ । यसरी काम गर्न सकेमा हामीले धेरै व्यक्तिलाई आकर्षक गर्न सक्छौँ ।
स्थानीय तह लक्षित कार्यक्रम
देशमा संघीयता आएको छ । यसले गर्दा गाउँ–गाउँमा सरकार बनेको छ । त्यहाँ बजेट पुगेको छ । अवसर पुगेको छ । नयाँ–नयाँ कुराको खोजी भइरहेको छ । बीमा क्षेत्रको समेत आवश्यकता अहिले स्थानीय तहमा छ । त्यसलाई ठिक तरिकाले पोलिसी बनाएर काम गर्न सकेमा धेरै फाइदा लिन सकिन्छ ।
अहिलेको कुरा गर्ने हो भने भर्खर नयाँ सरकार आएको छ । ५ वर्षसम्म यहि सरकार रहन्छ त्यसैले अब योजना लगेमा ५ वर्षसम्म काम गर्न पाउने अवस्था छ । यो समयमा बीमा क्षेत्रहरु स्थानीय तहमा पुग्न सक्यो भने ५ वर्षसम्म बीमाको सुविधा गाउँका व्यक्तिले लिन पाउछन् ।
अर्को छटौँ वर्षबाट बीमाको बारेमा कसैले केहि भन्नु पर्दैन । किनकी बीमा गर्नुको फाईदा त्यतिबेलासम्म मानिसले बुझिसकेको हुन्छन्, वा उपभोग गरिसकेका हुन्छन् । बीमा क्षेत्र जोखिमको व्यापार हो । तर समाजमा बसेर काम गरेपछि नाफा कमाउने मात्र उद्देश्य लिनु हुँदैन । समाजलाई केही दिनु हामी सवैको कर्तव्य हो ।
कहिलेकाहीँ घाटा हुने परिस्थितिमा समेत बीमाको बारेमा जे हे त्यहि भन्नुपर्छ । त्यस्तो गर्दा केहि घाटा भएपनि दिर्घकालिन रुपमा भने फाईदा नै दिन्छ । अहिले कतिपय स्थानीय तहमा जाँदा सबै बीमा कम्पनी फाइदामा नजान सक्छ । तर त्यो भन्दैमा त्यो क्षेत्रमा नजाने भन्ने होइन् ।
कर्णालीमा त्यहाँको सरकारले सबै व्यक्तिको बीमा गरिदिएको छ । खै कति पैसा लाग्यो ? त्यो एउटा उदाहरण हो । बीमा कम्पनीले स्थानीय सरकारसँग समन्वय गरेर काम गरेमा बीमा कम्पनीले समेत नाफा कमाउन सक्छन् ।
स्थानीय सरकारले लाखौँ लाख पैसा राहतको नाममा वर्षेनी बाँढ्ने गरेको छ । सरकारले बीमा बारेमा नबुझेकाले यस्तो भएकोे हो । राहतका रुपमा दिने रकम बीमा गरेरमा धेरैले लाभ पाउँछन् । एकजनालाई राहतमा दिने पैसाले धेरैको बीमा हुन्छ । भोली कसैलाई केहि भएमा बीमा बापत उसले क्षतिपूर्ती पनि पाउँछ । यो कुरा हामीले सरकारलाई बुझाउन सकेको छैन ।
कतिपय ठाउँमा विज्ञापनले काम गर्छ । कतिपय ठाउँमा बीमा कम्पनीले दिएको सुविधाले काम गरेको हुन्छ । यदि स्थानीय सरकारले अनिवार्य बीमा कार्यक्रम ल्याउने हो भने बीमा बारे धेरै गरिरहनुपर्दैन । तर त्यस्तो परिस्थिति अहिले छैन । त्यसैले बीमा कम्पनीले धेरै कुरा विचार गरेर काम गर्नुपर्छ ।
‘अबको ५–७ वर्षमा पूँजीका हिसावले बैंकहरुलाई बीमा संस्थाले जित्छ’
अहिले जतिपनि बीमा कम्पनी पूँजी बढाउन मर्जरमा गएका छन् । उहाँरुलाई धन्यवाद । बीमा कम्पनीको जति बढी पूँजी भयो त्यति धेरै राम्रो हुन्छ । पूँजी पर्याप्त मात्रामा भएपछि आवश्यक भुत्तानी समयमा दिन सक्छन् । त्यसले धेरै राम्रो सन्देश जान्छ । त्यसले अन्य सर्वसाधारण व्यक्तिलाई बीमा गर्ने प्रेरणा दिन्छ । त्यसले गर्दा बीमाको क्षेत्र बढ्न जान्छ । बीमा गर्ने व्यक्तिको संख्या बढ्नु भनेको बीमा कम्पनीले फाईदा कमाउनु मात्र होइन । जसले बीमा गरेको छ उसले लाभ लिनु पनि हो ।
बीमा समितिले क्षमता विकास गर्ने भनेको बीमा कम्पनीलाई नियन्त्रण गर्न खोजेको भनेर बुझिदिन भएन । बीमा समितिले नियन्त्रणको पाटोमा अहिलेसम्म हात समेत हालेको छैन । अहिले बीमामा मर्जर भइरहेको छ । त्यो समेत बीमा समितिले भनेको होईन । त्यो बीमा कम्पनीबाट नै आएकाले हामीले त्यसलाई सहजीकरण गरिदिएका हौँ ।
ठिक–ठिक पोलिसी ल्याएर काम गर्दा अबको ५–७ वर्षमा पूँजीका हिसावले बैंकहरुलाई बीमा संस्थाले जित्छ । मर्जर गर्नाले बीमाको साइज बढ्छ । त्यसैले अन्य बीमा कम्पनीहरु पनि मर्जरमा आउनुहोस् ।




