
बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ ।
उक्त अवधिसम्ममा बैंकले ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३७ रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १.७२ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २०.८७ प्रतिशत र सञ्चालन मुनाफा २८.३९ प्रतिशत बढेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २९ पैसा बढेर १७ रुपैयाँ ७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १०.९३ प्रतिशत बढेको छ भने जगेडा कोष १२.६१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २२.२० प्रतिशत बढेको छ भने कर्जा १८.२६ प्रतिशत बढेको छ ।