
बैंकिङ खबर/ सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड २६ वर्ष पूरा गरी २७ औँ वर्षमा प्रवेश गरेको छ । गुणस्तरीय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीको सुरुमा ३ करोड ६ लाख रुपैयाँ चुक्त पुँजी रहेको थियो । कम्पनीको अहिले चुक्ता पुँजी १ अर्ब ३३ करोड ३६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । १० जनाबाट शुरु भएको कम्पनीमा अहिले ४ सय ३७ जना कर्मचारी कार्यरत छन् ।
२६ वर्षदेखि निरन्तर, अनवरत रुपमा सेवा प्रदान गर्दै आइरहेको कम्पनीले हिमाली जिल्लाहरु जाजरकोट, मुगु र जुम्लामासमेत शाखा कार्यालय स्थापना गरेर सेवा प्रदान गरिरहेको छ । सम्पूर्ण बीमितहरुको विश्वास र भरोसाको केन्द्र बन्दै सगरमाथाले आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीले २०५३ साल साउन २ गतेबाट निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।
पछिल्लो १० वर्षमा साढे ९ अर्बको दाबी भुक्तानी
सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब १० करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले २ लाख ४७ हजार वटा बीमा पोलिसी जारी गरेको थियो ।
स्थापना भएको वर्ष ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
यस्तै पछिल्लो १० वर्षको अवधीमा कम्पनीले साढे ९ अर्ब भन्दा माथिको दाबी भुक्तानी गरेको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
विदेशी लगानी भित्र्याउन सफल
सगरमाथा इन्स्योरेन्सले नेपालली बीमा क्षेत्रको इतिहासमै पहिलो पटक वैदेशिक लगानी भित्र्याउन सफल बनेको थियो । श्रीलंकाको सेलिन्को इन्स्योरेन्स पिएलसीसँग संयुक्त लगानीमा कम्पनीले कारोबार गरिरहेको छ । विदेशी लगानी ल्याएर नेपालमा काम गर्न सजिलो नभएपनि कम्पनीले त्यसलाई सहज यात्राको रुपमा अगाडि बढाएको छ ।
सर्वाधिक चर्चामा ‘सगरमाथा भिआइपी अन दि स्पट’
कम्पनीले मोटर बीमामा दुर्घटना स्थलमै दाबी फछ्र्यौट गर्ने गरी सञ्चालनमा ल्याएको ‘सगरमाथा भिआइपी अन दि स्पट’ कार्यक्रम अहिले सर्वाधिक चर्चामा छ । बीमा क्षेत्रको प्रगतिमा कहिलै पछाडि फर्केर हेर्न नपर्ने अवस्थालाई कम्पनीले स्थापित गरेको छ ।
देशका मुख्य शहरी क्षेत्रमा विस्तार गरिएको ‘सगरमाथा भिआइपी अन दि स्पट’ कार्यक्रम चाँडो सेवा प्राप्त हुने भएकाले पनि चर्चामा बटुल्न सफल बनेको हो । यो कार्यक्रमले २०१८ मा इण्डिया चेम्बर अफ कमर्शद्वारा प्रोडक्ट इनोभेसन अवार्डसमेत प्राप्त गरेको थियो । यस्तै कम्पनीले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरु पनि प्राप्त गरेको छ ।
प्रधानसहित ८७ कार्यालयबाट सेवा प्रवाह
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको अहिले ८६ वटा शाखा कार्यालयहरु रहेका छन् । प्रधान कार्यालयसहित ८७ कार्यालयबाट कम्पनीले सेवा प्रदान गर्दै आइरहेको छ । यसका साथै चौबिसै घण्टा सपोर्ट दिँदै आएको छ ।
सामाजिक उत्तरदायित्वमा अब्बल
२६औँ वार्षिक उत्सवको अवसरमा सगरमाथाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नक्सालस्थित कम्पनीको प्रधान कार्यालयको प्राङगणमा सोमबार भएको कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।
कम्पनीले गत वार्षिक उत्सवमा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान बाहेकका अन्य सामाजिक उत्तरदायित्वका कार्यमा पनि सगरमाथा इन्स्योरेन्स सक्रिय रुपमा सहभागी बन्दै आइरहेको छ ।
साउन २ गते वार्षिक उत्सवको अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना हुदै आएको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न समयमा सहयोग, कोरोना नियन्त्रणका लागि नेपाल भेन्टिलेटर सर्भिसलाई १६ लाख रुपैयाँ, देउखुरी स्वास्थ्य चौकी, त्रियुगा नगरपालिका उदयपुरलाई १५ लाख बराबरको एम्बुलेन्स प्रदान र अन्य विभिन्न संघसंस्थालाई गरेर ३३ लाख ४५ हजार ५०० रुपैयाँ सामाजिक कार्यका लागि सहयोग गरिएको कम्पनीले जनाएको छ ।
आगामी यात्रा र योजना
सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । हाल सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ भने लुम्बिनीको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बीमा समितिको निर्देशन अनुसारको २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी मर्जरपछि सजिलै पुग्नेछ ।
बीमा समितिको निर्देशन अनुसारको चुक्ता पुँजी पुगेपछि आगामी यात्रा सहज तवरबाट अगाडि बढ्नेमा कम्पनी ढुक्क देखिन्छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका सूचना अधिकारी विश्वनाथ अधिकारीका अनुसार कम्पनी अहिले मर्जरको तयारीमा जुटेको छ ।
उहाँले भन्नुभयो ‘हामी अहिले मर्जमा केन्द्रीत छौं, मर्जर पछाडि बन्ने योजना फरक होलान्, तर अहिले मर्जरका लागि गर्नुपर्ने प्रक्रिया अन्तरगत नै काम भइरहेको छ ।’ दुई कम्पनी एक भएर कुन ढङ्गबाट अगाडि बढ्ने भन्ने बारे छलफल भइरहेकाले केही समय लाग्ने सूचना अधिकारी विश्वनाथ अधिकारीले बताउनुभयो ।




