
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिपछि प्रणालीबाट ५० अर्ब ८३ करोड रुपैयाँ लगानी योग्य पैसा हराउने भएको छ। राष्ट्र बैंकले ऋण विस्तारलाई नियन्त्रण गर्नका लागि भदौबाट लागू हुने गरी अनिवार्य नगद अनुपात (सीआरआर)लाई एक प्रतिशत बिन्दुले बढाउने घोषणा गरेको छ।
अहिले बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ८३ अर्ब रुपैयाँ छ। वाणिज्य बैंकहरुको मात्र ४४ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप छ। अहिले यसको ३ प्रतिशत सीआरआर कायम गर्नु पर्छ। यसो हुँदा बैक तथा वित्तीय संस्थाले ५० खर्ब ८३ अर्बको ३ प्रतिशत अर्थात एक खर्ब ५२ अर्ब ४९ करोड रुपैयाँ सीआरआर कायम गरिरहेका छन् भने बाणिज्य बैंकहरुले एक खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ कायम गरिरहेका छन्।
राष्ट्र बैंकले ३ प्रतिशतको सीआरआरलाई ४ प्रतिशत पुर्याउने बित्तिकै बैंकहरुको निष्कृय स्रोत बढेर गएको छ। बैंक तथा वित्तीय संस्थाले अब २ खर्ब ३ अर्ब ३२ करोड अर्थात पहिलेभन्दा ५० अर्ब ८३ करोड रुपैयाँ बढि सीआरआर कायम गर्नु पर्छ। वाणिज्य बैंकहरुले अब १ खर्ब ७९ अर्ब १२ करोड कायम गर्नुपर्छ। यो भनेको ४४ अर्ब ७८ करोडले बढी हो।