
राजु पौडेल, वरिष्ठ प्रबन्धक, आइएमई लिमिटेड
नेपालमा अहिले ५० भन्दा बढी रेमिट्यान्स कम्पनीहरु सञ्चालनमा छन् । उनीहरुले वैधानिक च्यानलमार्फत आ–आफ्नो ढङ्गबाट रेमिट्यान्स भित्र्याउने काम गरिरहेका छन् । रेमिट्यान्सको अधिकांश हिस्सा वैधानिक माध्यमबाटै नेपाल भित्रिने गरेको छ ।
सूचना प्रविधिको अधिकतम् विकाससँगै हरेक क्षेत्रका सेवाहरुमा परिवर्तन आयो । रेमिट्यान्स क्षेत्रमा पनि त्यस्तै परिवर्तन देखिएको छ । जसलाई अब लत्याएर अगाडि बढ्न सक्ने कुनै आधार छैन । त्यसैले प्रविधिलाई अवलम्बन गर्नुको कुनै विकल्प छैन । त्यसैले गर्दा रेमिट्यान्स कम्पनीहरुले प्रयोग गर्दै आएको परम्परागत प्रणाली विस्तारै विस्थापित हुँदैछ । सेवाग्राहीहरु पनि डिजिटल वालेटको प्रयोगमा लागिसकेका छन् । केही सिक्नेक्रममा पनि छन् ।
हामी मोबाइल वालेटको सुरुवाती फजेमा छौं । आफ्नै नियन्त्रणमा रहेको मोबाइल सेटमा पैसा प्राप्त गर्नु भनेको निकै राम्रो कुरा हो । तर, यसलाई व्यापक रुपमा लैजानुपर्ने आवश्यक्ता र बाध्यता दुबै छन् । त्यसको लागि रेमिट्यान्स कम्पनीहरुको गृहकार्य पुगेको छैन । केही समय गृहकार्यमा लाग्नुपर्दछ ।
दुईदेखि तीन वर्ष विश्व पूरै कोरोना महामारीको संकटबाट गुज्रियो । कोरोना महामारीले विश्वका अधिकांस व्यापारिक संस्थानहरुलाई क्षति पुर्याएको छ । नेपालीहरु दाजुभाइहरु जहाँ–जहाँ रोजगारीको लागि पुगेका छन् । ति राष्ट्रहरुमा पनि कोरोना संक्रमण देखियो । त्यहाँका रोजगारदाता कम्पनीहरु नै संकटमा परे । यो समयमा विदेश आउँने जाने क्रम पनि शिथिल बन्यो । रेमिट्यान्स कमाउने स्रोतहरु नै गन्तब्यसम्म पुग्न नसकेको अवस्थामा पक्कै पनि रेमिट्यान्स घट्छ । त्यस्तै भयो, रेमिट्यान्स घट्यो ।
अहिले पनि रेमिट्यान्स उत्साहजनक रुपमा अगाडि बढ्न सकेको छैन । रेमिट्यान्स उत्साहजनक रुपमा अगाडि बढ्न नसक्नु भनेको कोरोनाबाट परेको प्रभाव अझै कायम रहनु हो । कोरोना संक्रमणको दर केही कम हुन थालेपछि पछिल्लो समय नेपालीहरु फेरि श्रम गर्न जाने क्रम बढ्दै गएको छ । अब रेमिट्यान्स पनि बढ्छ । त्समा हामी आशावादी छौं ।
नेपालको अर्थतन्त्रमा १९१६ को सुगौली सन्धि पश्चात प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्जन गर्नका लागि विदेश जाने गरेको प्रचलन अहिले पनि कायम छ । त्यो मौसमी रोजगारीका लागि जानेहरु पनि छन् । स्थायी रोजगारीका लागि जानेहरु भएपनि छन् । दुबै प्रकारको रोजगारीमा जानेहरुले रेमिट्यान्स पठाउँथे । उनीहरुले आर्जन गरेको रकम नेपालका घरधुरीहरुको आर्थिक आवश्यक्ता पूर्ती गर्ने माध्यमका रुपमा छ ।
२०४२ सालमा वैदेशिक रोजगार ऐन लागू भयो । त्यस पश्चात छिमेकी मुलुक भारतलगायत अन्य देशहरुमा नेपाली युवायुवतीहरु श्रमका लागि जान थाले । विदेश जाने मान्छेको संख्या बढ्दै जाँदा वा बढेपछि रेमिट्यान्स पनि बढ्ने हो । रेमिट्यान्स आप्रवाहको दर बढ्न थाल्यो ।
अहिले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले निकै महत्वपूर्ण अर्थ राख्न थालेको छ । विगत एक दशकलाई फेर्केर हेर्ने हो भने नेपालको जिडिपीमा २५/२६ प्रतिशत सम्मको रेमिट्यान्स आप्रवाह भएको देखिन्छ ।
यो भनेको नेपाल जस्तो सानो पुँजी भएको देशका लागि निकै ठूलो कुरा हो । किनभने मुलुकको मूख्य आयात धान्ने दरिलो स्रोत नै रेमिट्यान्स बन्न पुगेको छ । अहिलेको अवस्थालाई मात्र हेर्ने हो भने पनि नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले निकै ठूलो महत्व राखेको छ ।
देशको जनशक्तिलाई राष्ट्रकै सीमाभित्र रोजगारीको अवसर सृजना गर्नसक्ने हो भने त्यो भन्दा ठूलो कुरा अर्को केही हुन सक्दैन । त्यो अवसर सृजना नभएमा मान्छेले अर्को विकल्प खोज्छ । त्यो भनेको वैदेशिक रोजगारी वा अन्य कुनै पेशा व्यवसाय पनि हुन सक्छ । यही नै हुन्छ भनेर ठ्याक्कै भन्न सकिन्न ।
देशमा उद्योग, कल कारखान स्थापना गरेर श्रमिकहरुलाई खपत गर्न सकिएको अवस्था छैन । श्रमिकहरुलाई नेपालमा खपत गर्न नसक्नु र उनीहरु वैदेशिक रोजगारीका लागि विदेशिनु भएको रेमिट्यान्स बढ्नु हो । रेमिट्यान्सको दर बढ्नु भनेको नेपालको अर्थतन्त्रमा यस्को भूमिका स्वतः बढ्नु हो । त्यसैले अर्थतन्त्रमा यसले निकै ठूलो महत्व राख्दछ ।
विदेशबाट पठाएको पैसा, नेपालमा बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण लगायतका क्षेत्रमा लगानी हुन्छ । रेमिट्यान्सको रकम आधारभूत आवश्यक्तामा खर्च हुन्छ भने त्यसले गरिबी घटाउँछ । यो विभिन्न अध्ययनहरुले समेत देखाएका छन् । नेपालमा गरिबीको दर घटाउनमा रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको छ । र अर्को कुरा रेमिट्यान्सले ग्रामीण क्षेत्रको कष्टकर जीवनलाई सहज बनाउँदै लगिराखेको छ ।
आइएमईले जुन समयमा रेमिट्यान्स सेवा सुरु गर्यो । त्यसबेला त्यस्तो प्रकारको सर्भिसको निकै आवश्यकता थियो । विदेशमा कमाउन जानेहरुको संख्या बढिराखेको थियो । तर, कमाएको पैसा औपचारिक रुपमा नेपाल पठाउने माध्यम थिएन । शुन्यताको अवस्थामा आइएमईले आफ्नो सेवा शुरु गर्यो। त्यसले एक प्रकारको राहत भयो । ‘आइएमई गरौं’ हाम्रो ट्याग्लाईन थियो । त्यसैलाई सेवाग्राहीहरुले प्रयोग गर्न थाल्नुभयो । त्यो आइएमईको लागि ठूलो कुरा हो ।
अहिले हामी दर्ताको हिसाबले मात्रै पहिलो बनेका होइनौं, हाम्रो सेवा र नेटवर्कको हिसाबले पनि नेतृत्वमा छौं । तर, यसमा सेवाग्राहीहरुको नै ठूलो हात छ । वैदेशिक श्रमिकहरुको ठूलो देन छ । विदेश जानेहरुले रेमिट्यान्स नपठाउने हो र आइएमईलाई विश्वास नगर्दिएको भए हामी नेतृत्वदायी रेमिट्यान्स कम्पनीको भूमिकामा पुग्न गाह्रो हुन्थ्यो होला ।
फेरि अर्को हामीले आफ्नो सेवालाई पनि निरन्तर रुपमा परिमार्जन गर्दै अगाडि बढ्यौं । प्रविधिमैत्री बनाउँदै लग्यौं । फ्याक्सबाट सन्देश पठाएर पेमेन्ट गर्न सुरु गरेको सेवा अहिले डिजिटल वालेटमा रेमिट्यान्स सेवा प्रदान गर्न सक्ने अवस्थामा छौं ।
नेपाली दाजुभाइ दिदीबहिनीहरुले जस्तो प्रकारको श्रेय हामीलाई दिनुभएको छ । त्यसमा २/४ वटा कुराले महत्व राख्छ जस्तो लाग्छ । चरम आवश्यक्ता खड्किएको बेला आइएमईले सेवा शुरु गर्यो । सेवाग्राहीलाई प्रदान गर्ने सेवामा कहिल्यै पनि सम्झौता गरेन । जस्तो सुकै प्रतिकुल अवस्थामा पनि सेवाग्राही मैत्री सेवा प्रदान गर्नमा कहिल्यै चुकेन ।
अर्को कुरा हामीले सिस्टम सुरक्षित हुनुपर्छ भन्ने कुरामा कहिल्यै कसैसँग सम्झौता गरेनौं । किनभने त्यसमा हामीप्रति सेवाग्राहीको विश्वास र भरोसा थियो । यस्तै सेवालाई छिटो छरितो बनाउनका लागि प्रविधिमैत्री बनाउँदै लैजानेतर्फ आइएमईको प्रण थियो । त्यो प्रण अझै पनि कायम छ । त्यो हामी कालन्तरसम्म कायम राख्छौं ।
माथिका कारण र दृढ संकल्पका कारण नै हामी रेमिट्यान्सको बजारमा पहिलो बन्न सकेका हौं । पछिल्लो समय रेमिट्यान्सको रकम विलासिताको क्षेत्रमा खर्च भयो भन्ने सुनिन थालेको छ । यसलाई उत्पादनमा लगानी गर्नप¥यो भन्ने छ । तर वास्तवमा ग्रामिण भेगमा गएर हेर्ने हो र रियालिटी बुझ्ने हो भने त्यस्तो लाग्दैन । शहरमा बस्ने केही मान्छेले रेमिट्यान्सको त्यो ढङ्गबाट प्रयोग गरे होलान् तर सबैलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन ।
श्रमका लागि बाहिर जाने मान्छे एक प्रकारको आर्थिक चपेटामा परेको हुन्छ । यसले आफ्नो घर, परिवार, समाज, देश सारा कुराहरु छोडेर प्रवासमा पुगेको हुन्छ । उस्को प्रमुख उद्देश्य भनेको नै आफू र परिवारले भोगेका समस्या र दुःखलाई चाँडोभन्दा चाँडो मुक्त गराउनु हो । उसले आफ्ना भाइबहिनी, छोराछोरीलाई राम्रो शिक्षा, स्वास्थ्य र गुणस्तरीय पोषणको बारेमा निरन्तर सोचिरहेको हुन्छ । आफूले लगाएको भन्दा राम्रो भाइबहिनी र छोराछोरीले लगाउँन् भन्ने सोच राख्नु र त्यसमा लगानी गर्नु भनेको रेमिट्यान्सको दुरुपयोग पक्कै होइन । रेमिट्यान्स लिएर क्यासिनो गएको मैले अहिलेसम्म देखेको छैन ।
रेमिट्यान्सको पैसा सम्बन्धित परिवारले प्रयोग गर्न नजानेका हुन सक्छन् । चेतनाको कमी भएको हुन सक्छ । त्यस्तो खालको पहुँच पनि विस्तार नभएको हुन सक्दछ । फेरि पारिवारीक समस्या बोकेर विदेश गएको व्यत्तिलाई करोडौंको लगानी भएको क्षेत्रमा लगानी गर भन्ने पनि सान्दर्भीक हुँदैन होला । उनीहरुलाई त्यसको बारेमा जानकारी नै हुँदैन । त्यसबाट प्रतिफल कहिले आउँने होरु सुरक्षाको दृष्टिकोणले कस्तो छरु लगायतका कुराहरुले उनीहरुलाई समस्यामा पार्न सक्छ ।
त्यसैले उनीहरुलाई स्थानीय तहले त्यस्तै प्रकारका साना लगानीका क्षेत्रमा लगाउनु नै राम्रो हुन्छ । स्थानीय तहले कुनै प्रकारको योजना बनाएर त्यसमा लगानी गर भन्न सक्छ । त्यस्तो हुँदा स्थानीय तहको जनप्रतिनिधिलाई उस्ले राम्रोसँग चिनेको हुन्छ । एउटा पुस्तालाई मात्र होइन उसको तीनपुस्ते उसलाई थाहा हुन्छ ।
मेरो लगानी डुब्दैन भन्नेमा लगानी कर्ता ढुक्क हुन्छ । लगानी नै डुबे पनि मेरै स्थानीय तहको लागि डुब्छ केही फरक पर्दैन, भन्ने सोच मनमा आउँन सक्छ । त्यसले गर्दा उनीहरुलाई लगानी गर्नका लागि समस्या पर्दैन । ढुक्क भएर लगानी गर्ने वातावरणको सृजना हुन्छ ।
(आइएमई लिमिटेडका वरिष्ठ प्रवन्धक पौडेलसँग गरिएको कुराकानीमा आधारित)