
बैंकिङ खबर/ नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, उकासिँदो मूल्यवृद्धि र मागमा संकुचनजस्ता चुनौतीलाई सामना गर्ने र परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणालीभन्दा बाहिर रहेको पैसा सिस्टममा ल्याउने कुरा र केही व्यावसायिक घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्ने बताउनुभयो ।
‘आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव चुलिँदो व्यापारघाटा र घट्दो विदेशी मुद्रा सञ्चिति, उकासिँदो मूल्यवृद्धि र मागमा संकुचन यी चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ,’ महामन्त्री थापाले भन्नुभयो, ‘परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणालीभन्दा बाहिर रहेको पैसा सिस्टमा ल्याउने कुरा र केही व्यावसायिक घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्छ ।’ सांसद थापाले सेयर बजारलाई सुधार गर्ने भनेर गत वर्ष ४/१२ को नीति ल्याइए पनि त्यो नीतिले ठूलालाई पोस्ने र सानालाई कस्ने काम गरेको बताउनुभयो ।