
रेशम न्यौपाने
प्रमुख कार्यकारी अधिकृत(सीईओ)
साधना लघुवित्त वित्तीय संस्था लिमिटेड
लघुवित्त र मौद्रिक नीति
लघुवित्त कोष तथा लघुवित्तमार्फत सहुलियत कर्जा दिने कुरा बजेटमार्फत आएका छन् । ती कुरालाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्छ । त्यस्तै लघुवित्त वित्तीय संस्थाहरु सुरुमा मर्जर तथा एक्जिवसनमा गएको अवस्था थियो । तर बीचमा केही समय सुस्तायो । अहिलेको पछिल्लो समयमा फेरि लघुवित्तमा मर्जरको चहलपहल बढेको छ ।
अहिले मर्जरको सुविधा रोकिने भन्ने कुरा आएको छ तर यो सुविधालाई यथावत् कायम राखेर अगाडि बढेमा लघुवित्त क्षेत्रलाई पनि राम्रो हुने थियो । त्यस्तै लघुवित्त संस्थाहरुको केन्द्रीय कार्यालय काठमाडौंमा राख्न पाउने व्यवस्था भएमा थप सहज हुने थियो । लघुवित्तको हालको ब्याजदरको रेटलाई व्यवस्थापन गर्ने भन्दा पनि लघुवित्तको कोषमार्फत अर्थात् सहुलियत कर्जामार्फत यसको कस्ट अफ फण्डलाई मिनिमाइज गर्ने जस्ता नीतिहरु राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा समेट्नुपर्छ ।
विपन्न वर्गको जीवनस्तर उकास्न सहयोग
लघुवित्त वित्तीय संस्थाले विपन्न तथा न्यून आय भएका व्यक्तिहरु, जोसँग सीप, क्षमता र दक्षता छ तर स्रोतको अभावका कारणले त्यसलाई उपयोग गर्न नपाएको अवस्थामा त्यस्ता मान्छेहरुलाई लगानी गर्ने अवसर दिएको छ । जसले उनीहरुको जीवनस्तर माथि उकास्न धेरै ठूलो सहयोग पुगको छ ।
लघुवित्त वित्तीय संस्थाकै माध्यमबाट मानिसहरु आर्थिक तथा प्रशासनिक रुपमा साक्षर भएका छन् । हिजो आफ्ना कुराहरु भन्न डराउने महिला दिदीबहिनीहरु आज आफ्ना हक अधिकारका विषयमा लड्न सक्ने अवस्थामा छन् । यसरी आर्थिक, प्रशासनिक तथा नैतिक रुपमा उनीहरुलाई साक्षर गराउन लघुवित्त सफल भएको छ ।
चुनौती तथा समस्याहरु
लघुवित्त वित्तीय संस्था आफैमा एउटा चुनौतीपूर्ण संस्था हो । किनकीे यसको कार्यक्षेत्र तथा कार्यप्रणाली पनि चुनौतीपूर्ण नै छ । यसले विशेषगरी ग्रामीण क्षेत्रमा काम गर्नुपर्ने, भौगोलिक चुनौती, बिना धितो कर्जा लगानी गर्नुपर्ने र विपन्न वर्गका मानिसहरु जो हिजोसम्म बैंकिङ सिस्टममा नआएको र आर्थिक अनुशासन नभएको, त्यस्ता मानिसहरुलाई आर्थिक अनुशासन सिकाउनुपर्ने र निरक्षर मानिसलाई साक्षर बनाउनुपर्ने छ । सो कारण यस क्षेत्रको प्रकृति नै जटिल भएको छ ।
त्यसैले यस क्षेत्रमा धेरै चुनौति तथा समस्याहरु छन् । अहिलेको पछिल्लो समयमा स्रोतको अभाव रहेको छ जसले गर्दा लघुवित्त वित्तीय संस्थाहरुले गा्रहकहरुको मागअनुुसारको कर्जा दिन नसकेको अवस्था छ । त्यसैगरी वाणिज्य बैंकहरुले ब्याजदर १४/१५ प्रतिशतसम्म पु¥याएको अवस्था छ जसले गर्दा लघुवित्तहरुलाई ब्याजदरको पनि समस्या आएको छ ।
समाधानको उपायहरु

लघुवित्त क्षेत्रको समस्याहरु समाधान गर्न विशेष गरी ग्राहकवर्गमा वित्तीय साक्षरताको आवश्यकता रहेको छ । उनीहरुलाई बचत किन गर्ने, गरेको बचतलाई कसरी परिचालन गर्ने, ऋण किन लिने, ऋणको सदुपयोग कसरी गर्ने, व्यवसायिक योजनाहरु कसरी बनाउने भन्ने जस्ता बचत, कर्जा लगायतको वित्तीय साक्षरताको ज्ञान दिनु एकदमै जरुरी छ ।
अहिले लघुवित्त क्षेत्रमा जतिपनि समस्याहरु आएका छन्, त्यसलाई समाधान गर्नका लागि एउटा व्यक्तिदेखि लिएर परिवार, समाज र सिंगो राष्ट्रलाई नै वित्तीय चेतना फैलाउन जरुरी रहेको छ ।
साढे पाँच अर्ब कर्जा लगानी गर्न सफल साधना लघुवित्त
साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एउटा राष्ट्रियस्तरको संस्था हो । यसले ३१ ओटा जिल्लाहरुमा ९३ ओटा शाखाहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । यसको चुक्ता पुँजी ३२ करोड २५ लाख छ । संस्थामा ३७५ जना कर्मचारीहरु कार्यरत छन् । उद्यमी सदस्य संस्था १ लाख रहेका छन् । यस संस्थाले ५ अर्ब ४० करोड रकम कर्जा लगानी गरेको छ ।
विशेष गरी कृषि, पशुपालन, व्यापार, ब्यवसाय जस्ता उत्पादनमुलक क्षेत्रमा यस लघुवित्तले कर्जा लगानी गर्दै आएको छ । लगानी भएको कर्जामध्येमा सबै प्रतिशत कर्जाको सहि सदुपयोग भएको छ । यस लघुवित्तमा खराब कर्जाको अवस्था बढ्दो क्रममा छ । अहिले संस्थामा खराब कर्जा २.५ प्रतिशतको हाराहारीमा छ ।
(साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंश)




