
बैंकिङ खबर/ बैंकहरुले तरलता व्यवस्थापनका लागि पछिल्लो तीन दिनमा राष्ट्र बैंकबाट लिने सापट रकम बढाउँदै लगेका छन् । बैंकहरुले पछिल्लो ३ दिन (आइतबारदेखि मंगलबारसम्म) मात्र १ खर्ब ४६ अर्ब १४ करोड ८० लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका छन् ।
असार १४ गते मंगलबार एकै दिन बैंकहरुले ७३ अर्ब ५५ करोड ३० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । असार १२ गते ३५ अर्ब ८० करोड यस्तो सुविधा बैंकहरुले असार १३ गते ३६ अर्ब ७९ करोड लिएका थिए । असार १४ गते ७३ अर्ब ५५ करोड ३० लाख रुपैयाँ एसएलएफ उपयोग गरेका छन् । गत जेठ ३१ गते ८० अर्ब ५६ करोड ९५ लाख यस्तो सुविधा लिएका बैंकहरुले त्यसपछि भने घटाउन थालेका थिए।
बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गरेको कुल लगानीको ९० प्रतिशतसम्म राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिन पाउँछन् । एसएलएफ बढीमा एक साताका लागि मात्र पाइने सापटी हो । तर आफ्नो सीमा पूरा नहुँदासम्म हरेक साता एसएलएफ नवीकरण गर्न पाइन्छ।
यसकारण ९० प्रतिशत सीमा नपुगेका बैंकहरूले हरेक साता एसएलएफ नवीकरण गर्दै आएका छन् । ब्याजदर पनि ७ प्रतिशत मात्र तिरे पुग्ने र हरेक साता नवीकरण गर्न पाइने भएपछि स्रोत अभावका कारण बैंकहरूले अल्पकालीन सापटीको भरमा दीर्घकालका लागि कर्जा प्रवाह गरिरहेका छन् ।