
बैंकिङ खबर/ विगत दुई दशक भन्दा बढी समयदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ सामाजिक उत्तरदायित्व बहनमा पनि त्यतिकै अब्बल बन्दै आएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई हालै एक कार्यक्रमकाबीच ह्विलचियर हस्तान्तरण गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौतापत्र आदन प्रदान गरी औपचारिक रुपमा ह्विलचियर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्विलचियर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताउनुभयो । उहाँले विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गराउनुभयो ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले आफूहरुको समाजप्रति पनि ठूलै दायित्व रहेको बताउनुभयो । त्यसैले हाललाई १०० वटा ह्विलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक काफ्लेले बिरामी अस्पताल आउँदादेखि नै ह्विलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकताअनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । यस्ता मनकारी संघसंस्थाहरुको सहयोगले नै अस्पताल जीवन्त रहने र सेवा प्रवाहमा सहजता आउने उहाँको भनाइ थियो।
महामारीमा मलम
यसअघि नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक करोड सहयोग गरेको थियो ।
नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घईले रु एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष सङ्घईले आफूहरु सरकार र आमनागरिकसँग एक भई यस महामारीविरुद्ध लड्न र सङ्क्रमण फैलिन नदिन प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
यसरी नेपाल लाइफ इन्सुरेन्सले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । जसका कारण यस इन्सुरेन्स कम्पनी सबैमाझ लोकप्रिय बन्द गएको छ ।




