Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यी हुन्, साताभर चर्चामा रहेका बैंकिङ गतिविधिहरु

२०७९ असार ३ गते

बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ ।

यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यस सातादेखि नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिको चर्चा सुरु भएको छ । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

नयाँ मौद्रिक नीतिको खाका कोर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको खाका कोर्न शुरु गरेको छ । राष्ट्र बैंकले जेठ मसान्तसम्मको आर्थिक सूचकहरुलाई आधार मानेर मौद्रिक नीतिको खाका तयार गर्न थालेको हो ।

नयाँ मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव पनि मागी रहेको छ । केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।

सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि राय–सुझाव मागेको हो । बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने राष्ट्र बैंकलाई चुनौती छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरु खस्किएको अवस्था छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, बढ्न नसकेको रेमिट्यान्स आप्रवाहलगायत कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा छ । यस्तो अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती समेत राष्ट्र बैंकलाई छ ।

मौद्रिक नीतिको खाका कोर्नका लागि गभर्नर महाप्रसाद अधिकारीले आफ्नै प्रमुख संलग्नता हुने गरी मौद्रिक नीतिको तयारी शुरु गर्नुभएको छ । जेठ १७ गतेदेखि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सम्बन्धी सुझावहरु लिन थालेको छ । आएका सुझावहरुलाई समेत राष्ट्र बैंकले केलाउने र सरोकारवालाहरुसँग छलफल समेत गर्ने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ प्रयोगमा छलाङ: १ करोड ७६ लाख बढी प्रयोगकर्ता

 चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ बढी रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैशाख ३१ गतेसम्म यस्तो मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो ।

जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७८ बैशाख मसान्तसम्म कुल मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या १ करोड ७३ लाख ८२ हजार ४४८ रहेको थियो ।

यसै आर्थिक वर्षको बैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रविधिबाट मात्र कुल ११ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, समीक्षा अवधिमा भूक्तानीको औजार वालेट प्रयोगकर्ता १ करोड ४८ लाख ८४ लाखबाट १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ कारोबार भएकोमा १ करोड ४ लाख ६२ हजार ६०८ वटा डेबिट कार्ड (एटीएम) बाट ८ अर्ब १ करोड ९२ लाख रुपैयाँ, २ लाख १५ हजार १८ जना क्रेडिट कार्ड प्रयोगकर्ताहरूबाट १२ करोड ४५ लाख रुपैयाँ र २ लाख ५२ हजार ७०५ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूबाट १ अर्ब १९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ ।

अन्य डिजिटल भुक्तानीका साधनहरु कनेक्ट आईपीएस, प्रिपेडकार्ड, आरटीजीएस लगायतका प्रणालीबाट समेत अर्बौंको कारोबार भएको बैंकले जनाएको छ ।

सिडी रेसियो ९०% माथि हुने बैंकलाई राष्ट्र बैंकको पत्र

नेपाल राष्ट्र बैंकले सिडी रेसियो (कर्जा–निक्षेप अनुपात)को सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार गरेको छ । राष्ट्र बैंकले बढी सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई पत्रचार गर्दै जवाफ माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार हाल २७ मध्ये १५ वटा बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा बढी छ । जसमा २ वटा बैंकको सिडी रेसियो ९५ प्रतिशतभन्दा बढी पुगिसकेको छ । राष्ट्र बैंकले असार मसान्तपछि नियम अनुसार सिडी रेसियो ९० प्रतिशत बढी हुने बैंकहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले हालै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएर सिडी रेसियो ९० प्रतिशतभन्दामाथि कटाउने बैंकलाई असार मसान्तको समय सीमा सम्झाएको थियो । राष्ट्र बैंकले सीइओहरुलाई सिडी रेसियोको व्यवस्था परिवर्तन नहुने र असारभित्र सीमा ल्याउनुपर्ने भनेको थियो ।

जग्गा धितोमा बैंकिङ कर्जा नपाइने

जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट  ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि जग्गा धितोमा ऋण लिन पाउने व्यवस्था बन्द भएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशनमा भनिएको छ, ‘खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैर कृषि क्षेत्र वर्गीकरण गर्नेपर्ने छ ।’

मन्त्रालयले सोही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनका लागि सिफारिस गर्नुपर्नेछ ।  ‘व्यक्ति, फर्म, कम्पनी वा संस्थाले जुनसुकै प्रकारका लिखतबाट जग्गाको खण्डीकरण गरी हक हस्तान्तरण गर्ने गरी लिखत पास गर्न आएका स्थानीय भू उपयोग परिषद्ले निर्णय गरे बमोजिम स्थानीय तहबाट सिफारिस भई आएमा खेतीयोग्य भए भू उपयोग नियमावली, २०७९ को नियम १२ को उपनियम (१) अनुसार र गैर कृषि भए सोही नियमावलीको नियम १२ को उपनियम (२) अनुसारको क्षेत्रफलभन्दा कम नहुने गरी कित्ताकाट गर्नुपर्नेछ,’ पत्रमा उल्लेख छ । तर, ससिम कित्ताको लिखतबाट हुने हक हस्तान्तरणमा यसले कुनै असर नपर्ने मन्त्रालयको भनाइ छ । 

पुनः नापीको क्रममा कुनै जग्गा ब्लकमा नापजाँच भई हालसाबिक दर्ता गर्दा कित्ता खुट्ट्याउनु पर्ने भएमा साबिक प्रमाण बमोजिम कायम गर्न बाधा पर्ने छैन । तर, साबिकको एक कित्ता जग्गा हालसाबिक गर्दा हाल कायम रहेको बाटो, कुलोलगायतले सिमाना छुट्टाएको अवस्थामा बाहेक एउटा ब्लकबाट कित्ताकाट हुँदा एकभन्दा बढी कित्ता कायम हुने गरी हालसाबिक गर्न नपाइने व्यवस्था गरेको छ । 

मन्त्रालयले  भू उपयोग नियमावली, २०७९ लागू हुनु अगावै आवासीय प्रयोजनका लागि आधिकारिक निकायबाट प्लानिङ अनुमति प्राप्त गरेका कम्पनी वा निकायले पर्मिट प्राप्त गरी स्वीकृत नक्सा बमोजिम कित्ता नापी नक्सामा बाटो तथा सार्वजनिक क्षेत्र कायम गरी सकेको भए सोही बमोजिम कित्ताकाट  गर्न बाधा पर्ने छैन । 

यस्तै, नियमावली लागू हुनु अगावै प्लानिङ अनुमति प्राप्त गरी स्वीकृत नक्साबमोजिम कित्ता नापी नक्सा कित्ताकाट गर्न बाँकी रहेको भए नियमावलीको नियम १२ बमोजिमको क्षेत्रफल कायम हुने गरी मात्र कित्ताकाट गर्नुपर्नेछ । 

कुनै कित्ता जग्गा कित्ताकाट गरी प्लट मिलान गर्दा नियम १२ को उपनियम (१) र उपनियम (२) मा तोकिएकोभन्दा कम क्षेत्रफल बाँकी नहुने भए मात्र प्लट मिलान गर्न सकिनेछ । 

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरमा जान सम्झौता

 ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५२.२९ अर्ब, चुक्ता पूँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्ब सहित कूल पूँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।

साथै, दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।

बैंकवित्त पूर्ववत् अवस्थामै सञ्चालन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जेठ १ गते पूर्वकै अवस्थामा कार्यालय सञ्चालन गर्न निर्देशन गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले यसअघिको शनिबार र आइतबार दुई दिन सार्वजनिक विदाको निर्णय परिवर्तन भई शनिबार मात्र कायम गरिएकाले पूर्ववत् अवस्थामा नै कार्यालय सञ्चालन गर्न इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका वित्तीय संस्था र एक पूर्वाधार विकास बैंकलाई समेत निर्देशन जारी गरेको हो ।

सोही सूचनामार्फत बैंकले वैशाख २८ गते जारी गरिएको पत्र खारेज गर्दै आगामी असार १ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुको कार्यालय खोल्ने समय पूर्ववत् नै कायम गरिएको समेत जानकारी दिएको छ । योसँगै भोलि बुधबारदेखि विहान १० देखि ४ बजेसम्म नै बैंक तथा वित्तीय संस्थाहरु खुल्ने भएका छन् ।

सरकारले गत जेठ १ गतेदेखि पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयनमा ल्याएको थियो । तर सो कार्यको सर्वत्र विरोध भएसँगै सरकारले एक महिनापनि नपुग्दै आइतबारको सार्वजनिक विदाको निर्णय फिर्ता लिएको छ । अब असार १ गतेदेखि सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा हुनेछ ।

वाणिज्य बैंकहरुको निक्षेप रु. २३ अर्बले बढ्यो

जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको हो।

गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो। जेठ २७ गतेसम्म निक्षेप बढेर ४३ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। एनबीएका अनुसार जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले, दोस्रो साता ६ अर्ब रुपैयाँले, तेस्रो साता ७ अर्ब रुपैयाँले र चौथो साता ३ अर्ब रुपैयाँले बढेको छ।

यसैगरी जेठ महिना लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी भने ३ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ थियो। जेठ २७ गतेसम्म कुल कर्जा लगानी बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। जेठ २७ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.२२ प्रतिशत रहेको छ।

बीमा कम्पनीमा पनि गोएमएल लागू

नेपाल राष्ट्र बैंकले बीमा कम्पनीहरूको लागि पनि शंकास्पद कारोबार सम्बन्धी सूचना गोएमएल पोर्टलमार्फत् नै उपलब्ध गराउनुपर्ने प्रावधान आजदेखि लागू गरेको छ । यसअघि पाक्षिकरूपमा बीमा कम्पनीहरूसँग शंकास्पद कारोबार वा रकमको सीमा नाघेका बीमितबारे जानकारी माग गर्दै आएको बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले असार १ गतेबाट लागू हुने गरी अनिवार्य दैनिकरुपमा कारोबार सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । बीमा कम्पनीले सिडिमा र इमेलमार्फत पाक्षिक तथ्यांक पेश गर्दै आएका थिए ।

शंकास्पद कारोबार, निगरानीमा राखिनुपर्ने सूचीमा रहेका राजनीतिक पष्ठभूमीका व्यक्ति, रु १ लाख वा सोभन्दा बढी भुक्तानी गर्ने बीमितको सम्बन्धमा जानकारी पेश गर्नको लागी बीमा कम्पनीलाइ गोएमएल सफ्टवेयर प्रयोग गर्न सुझाव दिइएपनि अधिकांश बीमकले प्रयोगमा ल्याएका छैनन् ।

बैंक तथा वित्तीय संस्थाले एक पटकमा रु १० लाख वा सोभन्दा बढी कारोबार गर्ने ग्राहक सम्बन्धमा वित्तीय जानकारी इकाइलाइ नियमितरुपमा सूचना दिनुपर्ने प्रावधान छ । तर बीमा कम्पनीले एक पटकमा रु १ लाख वा सोभन्दा बढी रकम बीमाशुल्कवापत भुक्तानी गर्ने बीमितबारे जानकारी उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।शुरूमा जेठ १ गतेबाट नै यो प्रावधान लागू गर्ने घोषणा गरेपनि बीमा कम्पनीले तयारी नपुगेको भन्दै थप समय माग गरेपछि असार १ बाट हुने गरी अनिवार्य गरिएको हो ।

अब सेयर कारोबार ६ दिन, शुक्रबार १ बजे बन्द

याे साताबाट सेयर बजार कारोबार ६ दिन सञ्चालन भएको छ । सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो ।

सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै खुलेकाे नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म सेयर कारोबार हुने भएको छ । शुक्रबार भने १ बजे बजार बन्द हुने भएको छ ।

यस अघि पुरानै व्यवस्था अनुसार आइतबार बजार खुल्ने र शुक्रबार बन्द हुन सक्ने बताइएको भएपनि नयाँ निर्णय अनुसार शुक्रबार दुई घण्टालाई भएपनि बजार खुल्ने भएको हो। लगानीकर्ताहरू शुक्रबारको कारोबारमा समेत अभ्यस्त भइसकेको र पछिल्लो समय सेयर कारोबारको राफसाफ लगायतका कामहरू प्रविधिको प्रयोगले हुन थालेसँगै यस्तो निर्णय गरिएको बुझिएको छ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली पारित, यस्ता छन् नयाँ व्यवस्था

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९’ स्वीकृत गरेको छ । विनियमावली स्वीकृत भएसँगै आइतबारदेखि कार्यान्वयमा आउने छ ।

नेप्सेको गत साता बसेको सञ्चालक समितिको बैठकले उक्त विनियमावली स्वीकृत गरेको हो । नेप्सेले उक्त विनियमावली स्वीकृत गरेसँगै धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई आफ्नै धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) राख्न बाटो खुलेको छ ।

यस्तै ब्रोकरले चलाउने टीएमएसको सूनिश्चितताका लागि चाहिने आवश्यक हार्डवयर तथा सफ्टवेयरको फेल ओभर सम्बन्धी व्यवस्था र सोको समय समयमा परीक्षणको लागि मापदण्ड पुरा गरेको हुनुपर्ने छ ।

उक्त मापदण्डमा नेटवर्क सम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानको लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गरिएको हुनुपर्ने, साइबार आक्रमण सम्बन्धी घटना र समस्याहरुको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाको लागि अनुगमन र सम्बोधन गर्ने प्रणाली स्थापना गरेको हुनुपर्ने छ ।

विजनेश रिकभरी म्यानेजमेन्ट र रेस्पोन्स सिस्टम स्थापना भएको, डिजास्टर रिकभरी साइट स्थापना गरिएको, टीएमएसका लागि आवश्यक पर्ने सर्भर, भण्डारण क्षमता, सुरक्षा व्यवस्था, नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार नेप्सेले तोके बमोजिम हुनुपर्ने छ ।

धितोपत्र बोर्डबाहिर कोइरालाको आमरण अनशन

पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले धितोपत्र बोर्ड बाहिर आमरण अनशन सुरु गर्नुभएको छ ।
कोइरालाले साढे ११ बजेबाट खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन सुरु गर्नुभएको हो ।

कोइरालाको यो तेस्रो आमरण अनशन हो। पुँजीबजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको कोइरालाले बताउनुभयो । पुँजीबजार सुधार र विस्तारका मागसहित लगानीकर्ताहरु गत जेठ २० गतेबाट आन्दोलनरत छन्।

राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा रामेश्वर ज्ञवाली

राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवाली मनोनयन हुनुभएको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कम्पनीको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा ज्ञवालीलाई मनोनयन गरेको जनाउनुभएको छ ।

 

 

 

 

Ad