Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गण्डकीमा बैंकवित्तः कर्जा विस्तार ११ प्रतिशले वृद्धि, निक्षेप वृद्धिदर १.८ प्रतिशत(पूर्णपाठ)

२०७९ जेष्ठ २४ गते


बैंकिङ खबर/ चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार ११ प्रतिशले वृद्धि भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार गण्डकीका बैंक वित्तीय संस्थाको निक्षेप वृद्धिदर भने १.८ प्रतिशत मात्र रहेको छ । चालु आर्थिक वर्षमा कोरोनाका कारण ठप्प रहेको आर्थिक गतिविधिले गति लिएसँगै कर्जाको माग पनि उच्च भएको थियो ।

यो अवधिमा बैंक तथा वित्तीय संसथाले कर्जा लगानी विस्तार गर्ने क्रममा स्रोत अर्थात निक्षेप बढाउने सन्दर्भमा ध्यान नदिएको देखिन्छ । त्यसैले गर्दा पनि कर्जा निक्षेप अनुपात ९० प्रतिशतको सीमा भन्दा माथि पुगेको हो ।

चालु आर्थिक वर्षको असारसम्ममा ४१ लाख ६५ हजार ८ सय ५८ निक्षेपकर्ता रहेको गण्डकी प्रदेशमा पुसमसान्तसम्ममा ५ लाख ४५ हजार ७ सय २८ नयाँ थपिएका छन् ।

चालु आवको पहिलो ६ महिनामा थपिएका निक्षेपकर्ताको संख्या गत आसारको तुलनामा १४ प्रतिशतले बढेको हो । पुससम्ममा निक्षेपकर्ता कुल संख्या ४७ लाख ११ हजार ५ सय ८६ पुगेका छन ।

२०७८ पुष मसान्तमा गण्डकी प्रदेशका ११ जिल्लाहरुमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी एक हजार ३ सय ९५ पुगेको छ । सर्वसाधारणमा वित्तीय चेतनाको स्तर बढेका कारण निक्षेपकर्ताहरुको संख्यामा निरन्तर वृद्धि भएको हो । बैंक तथा

वित्तीय संस्थाको शाखा विस्तार कास्की, तनहुँ र नवलपरासी जिल्लाहरुमा अधिक केन्द्रित देखिएको राष्ट्र बैंकले जनाएको छ ।

२०७८ असार मसान्तको तुलनामा २०७८ पुष मसान्तमा गण्डकी प्रदेशका १३९५ शाखाहरुको निक्षेप परिचालन १.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ७५ अर्ब ०३ करोड पुगेको छ ।

गत आवको सोही अवधिमा कुल निक्षेप १२ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा कुल कर्जा लगानी ११.१ प्रतिशतले वृद्धि भई ३ खर्ब ५० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ११.९ प्रतिशतले वृद्धि भएको थियो ।

कोरोना महामारीको समस्या क्रमशः न्यूनीकरण हुदै गएकोले उद्योग–व्यवसाय विस्तारसंगै यस प्रदेशमा कर्जाको माग बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । २०७८ पुष मसान्तमा गण्डकी प्रदेशमा इन्टरनेट बैंकिङ्गको दर्ता संख्या १.५ लाख र मोबाइल बैंकिङ दर्ता गर्नेको संख्या १८.६ लाख पुगेको छ ।

यसमध्ये इन्टरनेट सेवा र मोवाइल बैंकिङको सक्रिय प्रयोगकर्ताको संख्या भने क्रमशः १.१ लाख र १४.४ लाख रहेको राष्ट्र बैंकको अध्ययन रिपोर्टमा उल्लेख छ ।

केन्द्रीय तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धि भने राष्ट्रिय औसत भन्दा बढी अर्थात् ६.२ प्रतिशत हुने अनुमान रहेको छ । आर्थिक वर्ष २०७८-७९ को पहिलो ६ महिनामा गण्डकी प्रदेशको आर्थिक गतिविधिमा सुधार आएको छ ।

 

Ad