बैंकिङ खबर/ मिथिला लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्वरोजगार कार्यक्रम अन्तर्गत महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ४, प्रेमनगरमा कृषक उद्यमीहरुलाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
वित्तीय संस्थाका अध्यक्ष श्याम प्रसाद साहको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका सञ्चालक समितिका सदस्य डा. उमाशंकर प्रसाद रहनु भएको थियो ।
विशिष्ठ अतिथि युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, अतिथिहरु भंगाहा न.पा.–४ का वडाअध्यक्ष गणेश प्रसाद महतो, मिथिला लघुवित्तका प्रमुखकार्यकारी अधिकृत सत्यदेव राउत, संचालक समितिका पदाधिकारीहरु र कृषक उद्यमीसहित करिब ४०० जनाको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि डा. उमाशंकर प्रसादले मेहनती बेरोजगार किसानलाई पहिचान गरी मिथिला लघुवित्त वित्तीय संस्था लि.बाट भइरहेको स्वरोजगार कार्यक्रमको निरन्तरताको लागि आउने दिनमा पनि राष्ट्रिय योजना आयोगको तर्फबाट सहयोग गरिने प्रतिवद्धता गर्नुभयो ।
उहाँले नेपाल सरकारको आगामी वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको र किसानका उत्पादित बस्तुमा विभिन्न किसिमका रोग र किराको प्रकोप बढी रहेकोले बजेटमार्फत हरेक स्थानीय तहमा एक जना कृषि प्राविधिकको व्यवस्था मिलाइएको बताउनुभयो ।
बजेटमार्फत आयातलाई प्रतिस्थापन हुने खालका कार्यक्रम रहेको हुनाले उत्पादिन बस्तु बजारमा विक्री हुन नसकेमा नेपाल सरकारले खरिद गरेर व्यवस्थापन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
तरकारी फलफुल, पशु पालन गर्ने व्यक्तिको आर्थिक अवस्था तिब्र रुपमा बढ्ने भएकाले फजुल खर्च नगरी, खर्च कम गर्दै बचत गरी भोलीका लागि सम्पत्ती बनाउनुपर्ने धारण राख्दै मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक कारोवार मात्र नगरेर सामाजिक, शैक्षिक तथा परोपकारी काममा पनि उत्तीकै सेवा प्रवाह गरेकोमा विशेष धन्यवाद दिनुभयो ।
विशिष्ठ अतिथि विश्वमोहन अधिकारीले मिथिला लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतको विशेष पहलमा आएको स्वरोजगार कार्यक्रममा आवद्ध भई केही गर्न चाहने गरिब युवाहरुका लागि स्वरोजगार कोषले साथ दिने भएकाले विदेश जाने चाहना भएमा विदेश नगई आफ्नै भूमिमा उद्यमी बन्न कोषको सहयोग रहने बताउनुभयो ।
वित्तीय संस्थाका विभागिय प्रमुख रेशम प्रसाद वास्तोलाले संचालन गरेको अभिमुखिकरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत महेश कुमार चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख कार्यकारी सत्यदेव राउतले अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुको उद्धेश्यबारे प्रकाश पार्दै मिथिला लघुवित्तले प्रवाह गर्दै आएको सेवा सुविधाको वारेमा समेत जानकारी गराउनुभयो ।
उहाँले युवा तथा साना व्यवसायी कोषबाट प्राप्त रकमलाई व्यवस्थित रुपमा बेरोजगार युवाहरुलाई तरकारी व्यवसायका लागि लगानी गरिएकोमा आगामी दिनमा पनि तरकारी खेती, फलफुल खेती, पशुपालन, मासुजन्य व्यवसायमा संलग्न हुन चाहने बेरोजगार युवा उद्यमीलाई प्राथमिकतामा राखि लगानी गरिने जानकारी गराउनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष गणेश प्रसाद महतो, कृषिक उद्यमी गंगा यादव, जवाहर महतो, बेचनी देवी ठाकुर, सुलेखा देवी महतो र हिरादेवी महतोले किसानलाई खादमलको समस्या, उन्नत विउविज नपाउनु, औषधीको उचित प्रयोग हुन नसक्नु, उत्पादित तरकारीको उचित मुल्य नपाउनु, जंगली चौपायाले बाली नस्ट पार्नु जस्ता समस्या भएकोले समाधानका लागि कार्यक्रममार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्नुभयो ।
कार्यक्रममा कृषिकहरुले आफुले उत्पादन गरेका विभिन्न किसिमकाउत्पादित तरकारी प्रदर्शन गर्नु भएको थियो । अन्तमा प्रमुख अतिथि र विशिष्ठ अतिथिलाई वित्तीय संस्थाको अध्यक्ष श्याम प्रसाद साहले सम्झना स्वरुप मायाको चिनो प्रदान गर्दै युवा स्वरोजगार कोषले मिथिलालाई विश्वास गरी मधेश प्रदेशमा कार्यक्रम संचालन गर्न अवसर दिनु भएकोमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई विशेष धन्यवाद दिनुभयो ।




