
बैंकिङ खबर/ नेपाल लघुवित्त बैंकर्स संघले संघर्ष समितिको आरोपको खण्डन गरेको छ । लघुवित्तहरुले नेपालको वित्तीय क्षेत्रमा पुर्याएको योगदानलाई समेत धक्का पुग्नेगरि गरिएको प्रचारबाजीबारे संघले विज्ञप्तिमार्फत जवाफ दिएको हो।
लघुवित्त संस्थाहरुको भूमिका र योगदानलाई नजर अन्जार गर्दै यस क्षेत्रको बदनाम गर्ने उदेश्यप्रति आफुहरुको ध्यानाकर्षण भएको नेपाल लघुवित्त बैंकर्स संघले जनाएको छ।
‘लघुवित्त संस्थाहरुको भूमिका र योगदानलाई नजर अन्दाज गर्दै यस क्षेत्रलाई बदनाम गर्ने र वित्तीय पहुंचमा वाधा पुर्याउने उद्देश्यले केही निहित स्वार्थ भएका व्यक्तिहरुले विभिन्न माध्यमवाट समग्र लघुवित्त वित्तीय संस्थाहरु प्रति लगाएको भ्रामक आरोपहरु प्रति लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको गम्भिर ध्यानाकर्षण भएको छ’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विभिन्न माध्यममार्फत गरिएको प्रचारबाजी झुठा र कपोलकल्पित घटना भएको भन्दै संघले समग्र लघुवित्त वित्तीय संस्थाहरुलाई लगाईएका सम्पूर्ण आरोपहरु प्रति यस संघ खेद प्रकट गरेको छ।
कपोलकल्पित रुपमा भनिएका घटनाहरु र लगाईएका सम्पूर्ण आरोपहरुको सत्यतथ्य पत्ता लगाउन सरोकारवाला निकायहरुसँग जोडदार माग समेत संघले गरेको छ।
लाखौं विपन्न परिवारहरुलाई सरल र सहज तरिकाले घर दैलोमै सेवा प्रदान गर्दै महत्वपुर्ण योगदान पुर्याइरहेको बताउदै संघले लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नामको अवैधानिक संगठनको आडमा केही व्यक्तिहरुले आफ्ना ग्राहकहरुलाई उक्त समितिको सदस्यता प्रदान गर्ने भनी अवैधानिक तवरले रकम असुल गरेको संघको आरोप छ।
त्यस्तै संघर्ष समितिले अगाडी सारेका मागहरु गैर जिम्मेवारपूर्ण भएको नेपाल लघुवित्त बैंकर्स संघ अध्यक्ष प्रकाश राज शर्माको भनाई छ।
लघुवित्तलाई खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋण मिनाहा गर्नुपर्ने जस्ता माग हरु राज्यको प्रचलित नियम तथा कानूनहरुको ठाडो उल्लघंन तथा विपरित देखिएको भन्दै संघले यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई यथाशिघ्र कानूनको दायरमा ल्याउन समेत राज्यका सम्वन्धित निकायहरुलाई आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘ग्राहक र संस्थाको बिचमा सुमुधर सम्बन्ध कायम गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहेको कुरा सम्पूर्ण सरोकारवाला निकायहरु तथा ग्राहकहरुलाई यस संघ जानकारी गराउन चाहन्छ । साथै यस्ता किसिमका आरोपहरुवाट कत्ति पनि विचलित नभई आगामी दिनमा पनि निरन्तर रुपमा ग्राहक सदस्यहरुलाई अझ उत्कृष्ट सेवा उपलब्ध गराउने कुराको प्रतिवद्धता पनि व्यक्त गर्दछ ।’
लघुवित्त संस्थाहरू खारेजीको मागसहित गुल्मीका मनिराम ज्ञवालीको नेतृत्वमा रहेको लघुवित्तविरुद्धको संघर्स समितिले लघुवित्तमाथि आधारहीन आरोप लगाएको बताएको छ । ज्ञवालीले नेतृत्व गरेको संर्घस समितिले विभिन्न पाँच बुँदे मागहरूसहित अभियान चलाइरहेको छ ।
उनले नवसामन्तीको रूपमा स्थापित लघुवित्त खारेज गर्नुपर्ने, लघुवित्त संस्थाहरूले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर्नुपर्ने तथा समाजवादी अर्थतन्त्रको विकास गर भन्ने मागसहित अभियान चलाइरहेका छन् ।
केही दिन अगाडि एक टेलिभिजनमार्फत ज्ञवालीसहित तीनजना महिलाहरूले लघुवित्तमाथि चर्को ब्याज असुलेको र लाखौँ महिलालाई ऋणको दलदलमा फसाएको आरोप लगाएका थिए ।




