
बैंकिङ खबर/ नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिने प्रक्रियाका विषयमा बुधबार सर्वोच्चमा छलफल हुँदैछ । यसअघि सर्वोच्चले गाभिने प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै मंगलबारका लागि दुवै पक्षलाई बोलाएको थियो । तर सर्वोच्चले मंगलबारका लागि दुबै पक्षलाई छलफलमा बोलाएको भएपनि म्याद तामेलिका कारण बुधबारलाई सारेको थियो ।
सर्वोच्चले यसभन्दा अघिको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णयका लागि रिटका पक्ष विपक्षलाई छलफलका लागि बोलाएको थियो । तर, म्याद तामेलिका कारण बुधबार सरेको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “नबिल बैंक र एनबी बैंकको रिट सम्बन्धीको छलफल बुधबार हुने देखिन्छ ।”
सर्वोच्चले वैशाख २५ गते गाभ्ने तथा गाभिने प्रक्रिया तत्कालका लागि रोक्नु भन्दै रिट निवेदकका पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । त्यसका साथै जेठ ३ गते मंगलबारका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
नेपाल बंगलादेश बैंकमा रहेको बंगलादेशी बैंक आइएफआइसीको सेयर व्यवसायी विनोद चौधरीले खरिद गर्ने प्रारम्भिक सम्झौता भएदेखि मुद्दा मामिला सुरु भएको हो । अहिले आएर गाभ्ने/गाभिने प्रक्रियामा पनि मुद्दा मामिलाको झन्झट सुरु भएको छ ।
बंगलादेश बैंकमा रहेको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर हिस्सा चौधरी समहुलाई बिक्री गर्ने अनौपचारिक सहमती जुटेपछि गत पुस २९ गते प्रति कित्ता ४३ रुपैयाँमा खरिद गर्ने सम्बन्धमा औपचारिक सम्झौता भएको थियो । सो सम्झौता हुँदै गर्दा पनि सनराइज बैंकका अध्यक्ष समेत रहेका मोतिलाल दुगड लगायतका व्यवसायीले आइएफआइसीको सेयर खरिद गर्ने सहमती पहिले नै आफुहरुसँग भएको अवस्थामा चौधरी समुहसँग फेरि सम्झौता गरेर आफुहरुलाई शेयर नदिइएको भन्दै काठमार्डो जिल्ला अदालत गएका थिए । यसमा पनि काठमाडौं जिल्ला अदालतले दुगडसँग गरेको सहमती तोडेर चौधरी समुहलाई बिक्री गर्नुपर्ने कारण सोध्दै अन्तरिम आदेश जारी गरेको थियो ।
बैशाख १९ गते पुनः सर्वोच्च पुगेको सोही समुह अन्तर्गतको दिवेश्वरी ईन्भेष्टमेण्टले नेपाल स्टक एक्स्चेन्ज लि. नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लि., नेपाल राष्ट्र बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि।का संचालक समिति, नेपाल बंगलादेश बैंक लि।, नेपाल बंगलादेश बैंक लि।का संचालक समितिलाई विपक्षी बनाए रिट दयार ग¥यो ।
त्यसपछि वैशाख २२ गते नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनीले समेत नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि., सिडिएस एण्ड क्लियरिङ लि., नेपाल राष्ट्र बैंक, नेपाल बंगलादेश बैंक लि., नेपाल बंगलादेश बैंक लि. का संचालक समिति, नबिल बैंक लि., नविल बैंक लि.का संचालक समितिलाई विपक्षी बनाएर दर्ता गरेको मुद्दामा वैशाख २५ गतेको सुनुवाइमा न्यायाधीस बम कुमार श्रेष्ठको एकल इजलासले कारण देखाउ, अल्पकालिन अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई मंगलबार छलफलमा बोलाएको थियो ।