Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा अभिकर्ता कमिशन एक प्रतिशतले वृद्धि

२०७९ जेष्ठ २ गते

बैंकिङ खबर/ सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन १.५० प्रतिशतले वृद्धि भएको पाइएकोछ । गत आवको तेस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरूबाट अभिकर्ताहरूले ११ अर्ब १४ करोड ३६ लाख ५६ हजार रूपैयाँ कमिशन बुझेका थिए ।

चालु आवको सोही अवधिमा आइपुग्दा बीमा कम्पनीबाट अभिकर्ताहरूले पाउनु पर्ने कमिशन रकम १.५० प्रतिशतले बढेर ११ अर्ब ३१ करोड ९ लाख ९ हजार रूपैयाँ पुगेको हो ।

चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा नेपाल लाइफ, एलआइसी, मेट लाइफ, प्राइम लाइफ, गुराँस लाइफ, यूनियन लाइफ र राष्ट्रिय बीमा संस्थानले अभिकर्तालाई दिने कमिशन घटाएका छन् । भने अरू सबै कम्पनीका अभिकर्ताले पाउने कमिशन खर्च बढेको छ ।

नेपाल लाइफको अभिकर्ता कमिशन ७.४८ प्रतिशतले, एलआइसी नेपालको ८.१० प्रतिशतले, मेट लाइफको ४.८५२ प्रतिशत, प्राइम लाइफको ७.०८ प्रतिशत, गुराँस लाइफको ३७.५३ प्रतिशत, यूनियन लाइफको २.८६ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको ३१.७० प्रतिशतले घटेको हो ।

यस अवधिमा अभिकर्ता कमिशनवापत सबैभन्दा बढी कमिशन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ६३ करोड ४६ लाख ५३ हजार रूपैयाँ गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७.४८ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा नेपाल लाइफमा आवद्ध भएका अभिकर्ताले कमिशन वापत २ अर्ब ८४ करोड ७६ लाख १६ हजार रूपैयाँ बुझेका थिए ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले अभिकर्ताका लागि १ अर्ब २९ करोड ४८ लाख रूपैयाँ कमिशन दिएको छ । गत आवको यसै अवधिमा कम्पनीले अभिकर्ताका लागि १ अर्ब ४० करोड ९० लाख रूपैयाँ कमिशन दिएको थियो ।

नेशनल लाइफले अभिकर्ता कमिसन १३.८७ प्रतिशतले बढाएको छ । नेशनल लाइफका अभिकर्ताले १ अर्ब १० करोड ८० लाख रूपैयाँ बुझेका छन् । गत वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शिर्षकमा ९७ करोड ३० लाख रूपैयाँ खर्च गरेको थियो ।

युनियन लाइफले अभिकर्ता कमिशनमा ९३ करोड ७४ लाख रूपैयाँ खर्च गरेको छ । सिटिजन लाइफले अभिकर्ता कमिसन खर्च ३२.०४ प्रतिशतले बढाएर ६० करोड ४० लाख रूपैयाँ पुर्याएको छ ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा सूर्या लाइफले अभिकर्ता कमिसन २४.८३ प्रतिशतले बढाएको छ । कम्पनीमा आवद्ध भएका अभिकर्ताले यस अवधिमा ४५ करोड २५ लाख रूपैयाँ कमिशन बुझेका छन् ।

रिलायबल नेपाल लाइफले २९.२९ प्रतिशत, आईएमई लाइफले ११.१९ प्रतिशत, ज्योति लाइफले ५.२३ प्रतिशत, रिलायन्स लाइफले १२.०८ प्रतिशत, सन नेपाल लाइफले १४.१६ प्रतिशतले, सानिमा लाइफले १४.२९ प्रतिशतले, प्रभु लाइफले ३८.७८ प्रतिशतले र महालक्ष्मी लाइफले २५.७४ प्रतिशतले बढाएका छन् । बीमा समितिका अनुसार नेपालमा जीवन बीमा अभिकर्ताको करीब ३ लाख छ ।