Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समिति ५४ औं वर्षमा: रुपान्तरणको मोडमा

२०७९ जेष्ठ १ गते


बैंकिङ खबर/ बीमा समिति आफ्नो स्थापनाको ५३ औं वर्ष पूरा गरी ५४ औं वर्षमा प्रवेश गरेको छ । अर्थमन्त्रालयले २०२५ सालमा बीमा क्षेत्रलाई नियमन गर्न एउटा छुट्टै इकाईको स्थापना गर्ने निर्णय गर्यो । मन्त्रालयले स्थापना गरेको उक्त इकाई नै पछि गएर बीमा समिति बन्यो । सरकारले गठन गरेको सोहि इकाई अर्थात आजको बीमा समितिको पहिलो बैठक २०२६ साल जेठ एक गते बस्यो र आफ्नो काम सुरु गर्यो । यहि बैठकलाई आधार मानेर बीमा समितिले वार्षिकोत्सव बनाउने गरेको हो । कतिपयले आजको दिनलाई बीमा दिवस पनि भन्ने गरेका छन् ।

बीमा क्षेत्रको समग्र विकाससँगै ‚स्थानीय ‚तहमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन, समयमै बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गरी बीमा प्रतिको विश्वास अभिवृद्धि गर्न, प्रदेश सरकार‚ स्थानीय सरकारसँग समन्वय गरी घर लगायतका सम्पत्तिको बीमालाई प्रभावकारी बनाउन र लघुबीमा व्यवसाय प्रवर्द्धन गर्न समिति निरन्तर लागि रहेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताउनुभएको छ । बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्ने उद्देश्यले‚ स्थापित समितिको ५४ औँ वार्षिकोत्सवका अवसरमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तार मार्फत आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बीमा क्षेत्रलाई अग्र‚ स्थानमा पुर्याउने गरी आ–आफ्ना क्षेत्रबाट योगदान पुर्याउन सरोकारवाला सबैमा आग्रह गर्दै समग्र बीमा क्षेत्रको संस्थागत सुशासनमा समिति निरन्तर लागिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपालमा बीमा क्षेत्रलाई नियमन गर्ने बीमा समितिको अवधारणा विकास हुनु भन्दा पहिला नै बीमाको अभ्यास भएको पाइन्छ । नेपाल बैंकको स्थापना सँगै नेपालमा बीमाको इतिहास प्रारम्भ भएको देखिन्छ । नेपाल बैंकको स्थापना वि.सं. १९९४ सालमा भएको थियो । त्यस्तै २००४ सालको आश्विन ८ गते नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापना भयो । यही नै नेपालको इतिहासमा प्रथम बीमा कम्पनी हुन सफल भयो । यस कम्पनीको तत्कालीन अधिकृत पूँजी पाँच लाख रुपैयाँ थियो ।

यसको उद्देश्य भनेको तत्कालीन अवस्थाको जोखिम, जसमा चोरी तथा आगलागी र एक ठाउँबाट अर्को ठाउँमा सामग्री आदान–प्रदान गर्दा हुने सरसामानको जोखिमको स्वामित्व वहन गर्नु रहेको थियो । सुरुवातमा यसले नेपाल बैङ्क लिमिटेडसँग बढी नजिक भएर काम गर्यो । बैङ्कले ऋण प्रवाह गरेका व्यक्ति वा कम्पनीको सरसामानको गन्तव्यसम्म नपुगुन्जेलसम्म जोखिम वहन गर्ने, भारतबाट रक्सौल, वीरगन्ज हुँदै भन्सार छुटाई गन्तव्यमा पुर्याउने काम गर्थ्यो ।

यसरी २००४ सालमा स्थापना भएको बीमा कम्पनी २०१६ मा नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भयो र २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड नामकरण गरियो । स्थापनाकालदेखि नै उक्त कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ । नेपालमा निर्जीवन बीमा व्यवसाय नेपाल इन्स्योरेन्सले गरेता पनि जीवन बीमा नहुँदा नेपालीहरुले भारतीय बीमा कम्पनी मार्फत बीमा गर्दै आइरहेका थिए । जसले गर्दा नेपालमा पनि जीवन बीमाको महशुस भयो र तत्कालिन सरकारले पञ्चपर्षीय योजनामा बीमा संस्थानको स्थापना गर्ने योजना राख्यो । सोहि योजना अन्तर्गत रहेर सरकारले बीमा संस्थानको स्थापनाका लागि अस्थायी समिति गठन गर्यो ।

सोहि प्रतिवेदनका आधारमा २०२५ पुष एक गते राष्ट्रिय बीमा संस्थानको स्थापना भयो तर राजा महेन्द्रले फगुन ११ गते मात्रै उद्घाटन गरेका थिए । सरकारले संस्थानको स्थापना गर्दा ऐन सहित स्थापना गरेकाले आजसम्म पनि राष्ट्रिय बीमा संस्थान आज पनि ऐन अन्तर्गत नै छ । संस्थानको स्थापना पछि मात्रै बीमा समितिको अवधारणा विकास भएकाले सरकारले संस्थानलाई बीमा समिति अन्तर्गत राख्न चाहेनन । जुन आज पनि कायमै छ । यस अवधिमा कयौ सरकार परिवर्तन भयो तर यसलाई परिवर्तन गर्ने आट कसैले पनि गर्न सकेका छैनन् ।

राष्ट्रिय बीमा संस्थानले सुरुवातमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहे पनि २०२९ साल फागुन ७ गतेदेखि मात्रै जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । यसको लगत्तै भारतीय जीवन बीमा निगमले आफ्नो बीमा व्यवसाय संस्थानलाई हस्तान्तरण गरी नेपालमा रहेको आफ्नो कार्यालय बन्द गर्यो । यसरी छोड्नुपर्ने शर्त निगमसँग भएको थियो । यस संस्थानको स्थापनाले विदेशी कम्पनीसँग नै बीमा गर्नुपर्ने बाध्यताको अन्त्य भयो र केही हदसम्म पूँजी पलायनलाई रोक्न सफल भयो ।

२०४४ सालमा निजी क्षेत्रको बीमा कम्पनी नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीको स्थापना भयो । यसले जीवन र निर्जीवन दुईवटै बीमा व्यवसाय गर्दथ्यो । हाल आएर उक्त कम्पनीको नाम नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनी बनाइयो । सन् २००१ सेप्टेम्बर १ तारिखका दिन लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को स्थापना भयो ।

बीमा समितिले ५ वर्ष अगाडी १० जीवन र तिन निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिए सँगै हाल बजारमा १९ जीवन र २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यस्तै दुई पुनर्बीमा कम्पनी सहित बजारमा ४१ वटा बीमा कम्पनी पुगेका छन् ।

नेपाल जस्तो थोरै जनसख्या भएको देशमा आवस्यकता भन्दा धेरै बीमा कम्पनी भएको भन्दै चर्को विरोध हुने गरेको छ । त्यसैले बीमा समितिले यस वर्ष संख्या घटाउने उद्देश्य सहित कम्पनीको पूँजी बृद्धि गरिदिएको छ । यसको प्रभाव बजारमा देखिन थालिसकेको छ । पछिल्लो समय एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले मर्जरको संझौता गरेका छन् । त्यस्तै प्राइम, गुराँस र युनियन लाइफ मर्जरको लागि अगाडी बढेका छन् । अन्य कम्पनीहरु पनि मर्जरको अन्तिम प्रयासमा छन् ।

बीमा समितिका अनुसार पछिल्लो एक वर्षमा जीवन र निर्जीवन सहित कुल बीमा लेख संख्या ४१ प्रतिशलते बृद्धि भएको छ । त्यस्तै बीमाको पहुँच ३४ प्रतिशत जनसंख्यामा पुगेको अनुमान गरिएको छ । विगत ५ वर्षको इतिहासमा बीमाको पहुँच ५र७ प्रतिशतबाट यति धेरै माथि पुगेको हो ।

कोभिड १९ को समयमा समेत आक्रमक रुपमा विस्तार भएको बीमाको बजार पछिल्ला दिनमा भने केहि खस्किने संकेत देखा परेको छ । फागुन चैत महिनामा बीमाको बृद्धिदर घट्ने क्रम सुरु भएको छ । गएका दुई वर्ष कोभिड १९ को विश्वव्यापी माहामारीको सिकारमा नेपाल पनि पर्यो । संक्रमणकालिन अवधिमा भन्दा पनि ‘पोष्ट कोभिड’ बढि दर्दनाक बन्दै गइरहेको छ । कोभिड १९ जसरी जनस्वास्थ्यमा गम्भिर प्रभाव पार्यो त्यस्तै पोष्ट कोभिड पछि अर्थतन्त्रमा गम्भिर प्रभाव देखिन थालेको छ । यसको असर विस्तारै नेपाली अर्थतन्त्रमा पनि देखिन थालिसकेको छ ।