Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बन्द एलसी खोल्ने दुस्साहस कसरी गर्यो नविल बैंकले ?

२०७९ बैशाख १४ गते

बैंकिङ खबर/ नविल बैंकले राष्ट्र बैंकको निर्देशन विपरित पतितपत्र अर्थात् एलसी खोलेको पाइएको छ । गएको चैत २१ गते राष्ट्र बैंकले २७ वाणिज्य बैंकका कार्यकारी प्रमुखहरुलाई बालुवाटरमै बोलाएर बिलासी वस्तुहरुमा एलसी अर्थात् पतितपत्र नखोल्न निर्देशन दियो ।

विदेशी मुद्राको सञ्चिति दिनदिनै घटेपछि राष्ट्र बैंकले यो कदम चालेको थियो । राष्ट्र बैंकसँग अब ६ महीनाको आयात धान्न पुग्ने विदेशी मुद्रा पनि नभएको बताइन्छ । राष्ट्र बैंकले गाडी लगायत विलासी वस्तु आयातको एलसी नखोल्न अनौपचारिक निर्देशन दिएको थियो । तर राष्ट्र बैंकको निर्देशन विपरित नै केहि बैंकहरुले एलसी खोलेको पाइएको छ । निर्देशनको भोलिपल्ट अर्थात् चैत २२ गते केही वस्तुहरु आयातका लागि धमाधम एलसी खोलिएका पाइएको हो । चैत २२ गते पछि २५ गतेसम्म लगातार एलसी खोलिएको पाइएको छ ।

अग्रस्थानमा नबिल बैंक

निर्देशनपछि ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने गरी एलसी खोल्नेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । एलसी रोक्ने निर्णय भएपछि पनि नबिल बैंकले व्यापारिक घारानाको सेटिङमा आयातको लागि एलसी खोलेको पाइएको हो । स्रोतका अनुसार नविल बैंकले निर्देशन दिएपछि मात्रै पनि एक अर्ब ७४ करोड ७६ लाख ९५ हजार ५९६ रुपैयाँ बराबरको एलसी खोलेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक पनि

राष्ट्र बैंकको निर्देशनपछि पनि एलसी खोल्नेमा स्टान्डर्ड चार्टर्ड बैंक पनि रहेको छ । अन्य केही बैंकहरुले पनि सामान्य परिमाणमा मात्रै एलसी खोलेको पाइएको छ । २३ र २५ चैतमा व्यवसायी अनुज अग्रवालको विशाल ग्रुप अन्तर्गतको युनाइटेड ट्रेडर्सले चकलेट, क्रिम, जिलेटका उत्पादन र लुगा धुने डिटरजेन्ट पाउडरका लागि एलसी खरिद गरेको देखिन्छ ।

एलसी प्रतिबन्धपछि पनि युनाइटेड ट्रेडर्सले ७८ करोड २९ लाख रुपैयाँको एलसी खोलेको देखिन्छ । एलसी बन्द हुनुअघि र पछि गरेर नबिल बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकबाट ९ वटा एलसीमार्फत एक अर्ब १ करोड ५ लाख ९ हजार ५६७ रुपैयाँको एलसी जारी भएको छ ।

प्रतिबन्धपछि मात्रै विशाल समूहलाई ७८ करोड २९ लाख १० हजार ५५७ रुपैयाँ बराबरको बिलासी वस्तु आयातको अनुमति दिइएको छ । यस्तै नबिल बैंकको एलसी नम्बर ‘२२ डिसी ०१ यूएसडी २५४३९’ मार्फत ११ लाख ३ हजार २४.४० अमेरिकी डलरको एलसी खुलेको देखिन्छ ।नबिल बैंकको एलसी नम्बर ‘२२ डिसी ०१ आई एनआर ०२५०८३’ मार्फत ७ करोड ४५ लाख ७२ हजार ११६ रुपैयाँ ८ पैसा बराबरको लुगा धुने डिटर्जेन्ट पाउडर पनि आयातका लागि एलसी खुलेको छ । यो एलसी भारतीय रुपैयाँ ४ करोड ६६ लाख ७ हजार ५७३ दशमलव ५० पैसा भारुमा एलसी खुलेको थियो ।

मौखिक रुपमै स्पष्टीकरण

बैंकहरुले यसरी एलसी खोलेको पाइएपछि केही बैंकहरुलाई मौखिक रुपमै स्पष्टीकरण समेत लिइएको थियो । थोरै परिमाणमा एलसी खोल्ने १० वटा बैंकहरुले अत्यावश्यक परेका र १० लाख रुपैयाँ भन्दा तलको मात्रै एलसी खोलेको पाइएको थियो ।

सोधिएन नविललाई स्पष्टीकरण

ठूलो परिमाणमा एलसी खोल्ने नबिल बैंकलाई भने राष्ट्र बैंकले स्पष्टीकरण समेत सोधेको छैन ।

के हुन्छ कारबाही ?

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले बैंक वा वित्तीय संस्थाको संस्थापक, शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी वा अन्य कुनै सम्बन्धित व्यक्तिले यो ऐन वा राष्ट्र बैैंक ऐन वा सो अन्तर्गत जारी भएको नियम, विनियम वा दिइएको निर्देशन वा आदेश वा शर्तको उल्लंघन गरेमा वा राष्ट्र बैंकले उल्लंघनको प्रकृति तथा गाम्भिर्य हेरी दशलाख रुपैयाँ सम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

नविल बैंक भन्छ, ‘राष्ट्र बैंकको निर्देशन अगाडि नै खोलिएको हो’

यता नविल बैंकका महाप्रवन्धक मनोज ज्ञवालीले भने आफूहरुले एलसी खोलेको स्वीकार गर्नुभयो ।
खोलिएका सबै एलसी राष्ट्र बैंकको निर्देशन आउनु अगाडिको भएको उहाँको भनाइ छ ।
राष्ट्र बैंकको निर्देशनको बैंकहरुले भद्र पालना गरेको र नबिल बैंकले पनि नियामक निकायको सबै निर्देशन पालना गरेको पनि उहाँले बताउनुभयो । निर्देशन आएपछि आफूहरुले एलसी नखोलेको ज्ञवालीको दावी छ ।

के हो एलसी ?

प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ । जसबाट, आयातकर्तामाथि निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत गरेको हुन्छ । यसमा आयातकर्ता ग्राहकले विदेशबाट सामान खरिद गर्न विदेशी निर्यातकर्तालाई अनुरोध गर्छ ।

यसका लागि ग्राहकले मात्र सक्दैन । आयातकर्ता देशको बैंक जमानत चाहिन्छ । आयातकर्ता देशको बैंकले निर्यातकर्ता देशको बैंकलाई रकम भुक्तानी हुने ग्यारेन्टी गर्ने प्रक्रियालाई नै लेटर अफ केडिट (एलसी) भनिन्छ । यता, सामान आइसकेपछि पैसा भुक्तानी गर्न आयातकर्ताको बैंक बाध्य हुन्छ भने नमुनामा देखाइएको गुणस्तरअनुसार सामान पाउने ग्यारेन्टी निर्यातकर्ताको बैंकले प्रत्याभूत गरेको हुन्छ ।

सामान्यतया प्रतीतपत्र निम्न प्रकारका हुन्छन् :

१) रिभोकेबल (परिवर्तनीय) एन्ड इभोकेबल एलसी
२) स्ट्यान्ड बाई एलसी
३) कन्फर्मड (निश्चित) एलसी
४) ट्रान्सफरेबल (हस्तान्तरणीय) एलसी
५) ब्याक टु ब्याक (एकपछि अर्को निरन्तर) एलसी
६) पेमेन्ट एट साइट (पाउनेबित्तिकै भुक्तानी गर्नुपर्ने) एलसी
७) डिफर्ड पेमेन्ट (भुक्तानी सार्न मिल्ने) एलसी
८) रेड क्लाउज एलसी

प्रतीतपत्र खोल्ने प्रयोजनका लागि निवेदनसहित निम्न कागजात बैंकसमक्ष पेस गर्नुपर्ने हुन्छ :

(क) आयातकर्ता फर्मको अद्यावधिक दर्ता प्रमाणपत्र
(ख) अध्यावधिक आयकर दर्ता प्रमाणपत्र
(ग) नेपाल राष्ट्र बैंकले प्रदान गरेको विविनि फारम
(घ) प्रोफर्मा इन्भ्वाइस, वा करारपत्र

यस्तो कागजातमा निम्न व्यहोरा खुलेको हुनुपर्नेछ :

⇒सामानको नाम, ब्रान्ड र मोडेल नम्बर भए सोसमेत
⇒सामान उत्पादन गर्ने मुलुकको नाम
⇒एकाइ मूल्य, परिमाण र जम्मा मूल्य
⇒सिआइएफ, एफओबी, सिएफआर कागजात
⇒भुक्तानीको किसिम
⇒कम्तीमा आठ अंकको हार्मोनिक कोड
⇒आयातकर्ता तथा निर्यातकर्ताको नाम, ठेगाना र टेलिफोन

 

Ad