
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले महिलाहरुको आर्थिक उन्नतीमा लघुवित्तको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौंमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै कामु गभर्नर तिम्सिनाले लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैंगिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको बताउनुभयो ।
लघुवित्तले महिलाहरुको आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका खेलेको तिम्सिनाले बताउनुभयो । समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासको बाबजुद मुलुकको कुल जनसंख्याको करिब १८ प्रतिशत हिस्सा अझै पनि गरिबीको रेखामुनि रहेको तिम्सिनाले बताउनुभयो ।
अझै पनि २० प्रतिशत जनसंख्याको हिस्सा औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थाहरुलाई गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि प्रभावकारी साधन मानिएको उहाँको भनाइ थियो।


